विचार मिल्नेहरूसँग छिट्टै मोर्चा बनाउँछौँ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच छिट्टै समाजवादी मोर्चा बनाएर अघि बढ्ने बताएका छन्।

अध्यक्ष नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच समाजवादी मोर्चा बनाएर अघि बढ्ने दिशामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि पहल गरिरहेको उल्लेख गर्दै त्यसलाई छिट्टै घोषणा गरेर अघि बढने बताए।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धि, चुनौति र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै उनले  विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा, संगठनात्मक सोच, कार्यशैली र मन मिल्ने पार्टीहरुबीच एउटै पार्टी हुने पनि बताए।

अध्यक्ष नेपालले मुलुकमा विद्यमान समस्यालाई समाधान गर्नका लागि  कम्युनिष्ट शक्तिहरुको विकल्प नभएको उल्लेख गर्दै सबै कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध हुन पनि आग्रह गरे।

सो अवसरमा उनले नेकपा मसाल, नेकपा संयुक्त लगायतका साना बाम राजनीतिक शक्तिहरुलाई समाजवादी मोर्चामा सहभागी भएर अघि बढन पनि आह्वान गरे।

अध्यक्ष नेपालले भने, ‘आज पनि कम्युनिष्ट पार्टी सानोसानो समूहमा विभाजित भएको देखिन्छ। यो सानोसानो पसल थापेर अनि शक्ति विभाजित गरेर त्यसको फाइदा दक्षिणपन्थी शक्तिहरुले उठाउँछन्। जनताले कम्युनिष्ट पार्टीलाई पत्याएका पनि छन्। विश्वास गरेका पनि छन। पत्याएका पनि छन। त्यही पत्याएका कारणले हामीले पटक पटक मुलुकको नेतृत्व गर्ने अवसर पनि पाएका छौं। हामीले आज समाजमा समस्या नै समस्या देखिराखेका छौं। हामी समाजवादी मोर्चा बनाएर, जनताका सामु घोषणा गरेर हामी प्रस्तुत हुन गइरहेका छौं।’

अध्यक्ष नेपालले जनतालाई आशा दिने शक्ति नेपालमा कम्युनिष्ट शक्ति मात्रै भएकाले उनीहरुबीच एकताबद्ध भएर अघि बढनुको विकल्प नरहेको पनि बताए।

राजनीति