३० हजार शिक्षकको पेन्सन बैङ्क खातामा पठाउन सुरु

 ३० हजार शिक्षकको पेन्सन बैङ्क खातामा पठाउन सुरु गरिएको निवृतिभरण व्यवस्थापन कार्यालयले जनाएको छ ।

बजेट अपुग भएपछि ५१ हजार ३ सय ८ मध्ये करिब ३० हजार शिक्षकले चैत महिनाको पेन्सन पाएका थिएनन् ।

अर्थ मन्त्रालयले ३ अर्ब बजेट निकासा दिएपछि चैत र वैशाख महिनाको पेन्सन बैङ्कमार्फत पठाउन हिजोबाट सुरु भएको निवृतिभरण व्यवस्थापन कार्यालय प्रमुख विष्णुप्रसाद खरेलले जानकारी दिनुभयो ।

शिक्षकसँगै निजामती र अन्तर्गतका कर्मचारी, सुरक्षा निकायका कर्मचारीको समेत वैशाख महिनाको पेन्सन पठाइएको उहाँको भनाइ छ ।

कार्यालयकाअनुसार हाल २ लाख ९४ हजारले पेन्सन बुझिरहेका छन् ।

नेपाली सेनाका ९२ हजार, निजामतिका ८० हजार, प्रहरीका ५८ हजार, ५१ हजारभन्दा बढी शिक्षक छन् ।

गत आर्थिक वर्ष सरकारले ६४ अर्ब १९ करोड ८० लाख रुपैयाँ पेन्सन बापत भुक्तानी गरेको थियो ।

पछिल्ला ८ वर्षमा ३८ अर्ब १८ करोड ७४ लाख पेन्सनका लागि खर्च भएको छ ।

समाचार