चार महिनादेखि उठेन कर्णाली प्रतिष्ठानको फोहोर, अस्पताल र नगरपालिका आरोप–प्रत्यारोपमा

जुम्ला : दैनिक फोहोर नउठ्दा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दुर्गन्धित बनेको छ। अस्पतालको हाताभित्र चार महिनादेखि  फोहोर नउठेका कारण दुर्गन्ध फैलिएको हो। 

अस्पतालभित्रको शव घर नजिकैको खाली जमिनमा फोहोर थुप्रिएकोले दिनप्रतिदिन दुर्गन्ध फैलिएको हो। फोहोरका कारण ओपीडीमा उपचार गर्न आउने बिरामीदेखि अस्पताल हुँदै ओहोरदोहोर गर्ने नागरिक प्रभावित हुने गरेका छन् ।

अस्पतालजस्तो संवेदनशील क्षेत्रमा फोहोर उठ्न नसक्नु विडम्बना भएको स्थानीय नवराज श्रेष्ठ बताउँछन्। फोहोर जम्मा हुँदा कागदेखि कुकुरसम्मका पशुपक्षीले दुःख दिएको उनको भनाइ छ।

अस्पतालका निर्देशक डा.राजिव शाह चार महिनादेखि फोहोर नउठेको स्वीकार गरे। उनले चन्दननाथ नगरपालिकाका कारण फोहोर नउठेको दाबी गरे। ‘फोहोर उठाउनका लागि चन्दननाथ नगरपालिकासँग सम्झौता भएको छ’, उनले भने, ‘नगरपालिकाले नउठाएका कारण चार महिनादेखि फोहोर जम्मा भइरहेको छ।’

शाहका अनुसार अस्पतालको मासिक ६ हजार रुपैयाँमा अस्पतालको फोहोर उठाउने सम्झौता भएको थियो। नगरपालिकाको लापरबाहीका कारण १५ देखि २० वटा ट्याक्टर भरिने गरी अस्पतालको हाताभित्रै फोहोर थुप्रिएको उनको भनाइ छ।

चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले प्रतिष्ठानकै कारण फोहोर उठ्न नसकेको आरोप लगाए। नगरपालिकासँग समन्वय नगरेकाले फोहोर उठाउन छाडेको उले बताए। ‘नगरप्रमुख प्रतिष्ठान सिनेटको सदस्य पनि हो तर बैठकमा पनि बोलाइँदैन। रायसल्लाह सुझाव पनि लिने गरिएको छैन’, उनले भने ‘त्यसैले समस्या आएको हो।’  

नगरपालिकाले फोहोर नउठाएपछि तत्कालका लागि चेरेचौरमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गामा खाडल खनेर व्यवस्थापन गर्ने विषयमा समेत छलफल भइरहेको निर्देशक शाहले बताए। 

समाज