प्रादेशिक राष्ट्रपति उत्कृष्ट कृषक पुस्कारबाट ५ जना पुरस्कृत

बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास निर्देशनालयले पाँच जना कृषकहरुलाई नगद पुरस्कार प्रदान गरेको छ । मन्त्रालयको प्रदेश सरकारको प्रादेशिक राष्ट्रपति उत्कृष्ट कृषक पुस्कारबाट पाँच जनालाई पुरस्कार प्रदान गरेको हो ।

पुरस्कृत हुनेमा ३ जना चितवनका, एक/एक जना ललितपुर र काभ्रेका छन् । बीएण्डबी केरा फार्म संचालन गरिरहेका चितवनको रत्ननगर नगरपालिका–१२ का विष्णुहरि पन्त प्रथम, जनजीविका कृषि तथा पशु फार्म संचालन गरिरहेका ललितपुरको बागमती गाउँपालिका–१ का गोविन्द गौतम द्वितीय र सरोज कृषि फार्म संचालन गरिरहेका चितवनको माडी–६ का सरोज साह तेली तृतीय भएका छन् ।

प्रथम, द्वितीय र तृतीय हुनेहरुले क्रमशः ७० हजार रुपैयाँ, ६० हजार रुपैयाँ र ५० हजार रुपैयाँसहित सम्मानपत्र प्राप्त गरेका छन् ।

यस्तै, कुसदेवी कृषि फार्म संचालन गरिरहेका काभ्रेको पनौती–२ का रमेश आचार्य र बिश्रुदेवी एग्रिकल्चर फार्म संचालन गरिरहेका चितवनको भरतपुर महानगरपालिका–१७ का विष्णुबहादुर विश्वकर्मा सान्त्वना भएका छन् । उनीहरुले नगद ४० हजार रुपैयाँसहित सम्मानपत्र प्राप्त गरे ।

उनीहरुलाई निर्देशनालयका निमित्त प्रमुख तेजप्रसाद दुवाडी र बागमती प्रदेश कृषि मन्त्रालयका सचिव शरणकुमार पाण्डेले पुरस्कार हस्तारण गरेका हुन् ।

बागमती प्रदेश सरकारको प्रादेशिक राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारका लागि प्रदेशका १२ जिल्लाबाट जिल्लागतरुपमा उत्कृष्ट भएका ३६ जना कृषकहरुको मूल्यांकन र स्थलगत अवलोकन गरी ५ जना कृषकलाई छनौट गरिएको हो ।

राजनीति