नेपाललाई खेल हबको रूपमा विकास गर्न माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले नेपालको इज्जत र सम्मान बढाउने क्रिकेट खेलाडीहरूलाई सरकारले झारा टार्ने काम नगर्न आग्रह गरेका छन्।

मंगलवार बसेको राष्ट्रियसभाको बैठकमा उनले यस्तो बताएका हुन्। उनले अहिले नेपाललले क्रिकेटमा उत्कृष्ट खेल प्रदर्शन गरेको कुरालाई मद्देनजर गरी त्यसैअनुसार खेल पूर्वाधारको विकास गर्नुपर्ने बताए। उनले खेलाडीहरूको उचित सम्मान र पुरस्कृत गर्नुपर्ने बताए।

उनले राष्ट्रका लागि योगदान दिएको नाममा जो जस्ता पनि पुरस्कृत र सम्मान गर्ने चलन बढेको गुनासो आइरहेको भन्दै त्यस्तो प्रवृत्ति भए हटाउन आग्रह गरे।

उनले भने, ‘अहिले नेपालले क्रिकेटमा उत्कृष्ट खेल प्रदर्शन गरेको छ। नेपालको इज्जत सगरमाथाभन्दा पनि माथि लगेको छ। खेलाडीलाई सरकारले झारो टार्नुभन्दा पनि उचित सम्मान र पुरस्कृत गरोस्। भारत र पाकिस्तान लगायतका देशबीचको टकरावको फाइदा लिनसक्ने गरी खेल पूर्वाधारमा लगानी बढाई अन्तरराष्ट्रिय खेल हबको रूपमा नेपाललाई अघि बढाइयोस्। भारत र पाकिस्तानबीचको खेल नेपालमा खेलाउन सक्छौँ भन्ने प्रतिबद्धताका साथ सरकार अघि बढोस्।’

सदस्य देवकोटाले खेल पूर्वाधारमा नेपालमा लगानी बढाई अन्तरराष्ट्रिय खेल हबको रूपमा नेपाललाई स्थापित गर्न आग्रह गरे।

राजनीति