दैलेखमा डढेलो निभाउने क्रममा घाइते भएकाहरुको घरका आफन्त नहुँदा उपचार प्रभावित

दैलेख – दैलेखको आठबीस नगरपालिका–६ माल्यको वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका ७ जनाको नेपालगञ्जमा उपचार भैरहेको छ । उनीहरुको नेपालगञ्जको भेरी अस्पताल र नरसिंह कलेजमा उपचार भैरहेको हो । 

घाइते भएका १० जनामध्ये एक जना भैरे बिकको उपचारका क्रममा गएराति ज्यान गएको डा. आश्रिन सिद्धिकीले जानकारी दिनुभयो ।

अरु दुई जना सामान्य घाइते २३ वर्षीया जुना बिक र २४ वर्षीया मीना बिक राकमको स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि हिजो नै घर फर्किनुभएको थियो ।

नेपालगञ्ज पुर्‍याइएका ७ जनामध्ये ३० वर्षीया नबिन बिकको भेरी अस्पताल र ३१ वर्षीया बसन्धुरा बिकको नरसिंह कलेजमा आईसीयूमा राखेर उपचार भैरहेको छ ।

अरु पाँच जना १९ वर्षीया जौकला बिक, १८ वर्षीया छत्रा बिक र १८ वर्षीय मोतिराम बिकको नरसिंह कलेज अनि २९ वर्षीय प्रज बिक र २३ वर्षीया नैना बिकको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आठबीस–६ सिंगासैनको अइढुंगादेखि तुसारपानी गोरेटो बाटो खन्ने काममा हिजो जंगलमा डढेलो लागेपछि निभाउने क्रममा उनीहरु घाइते भएका थिए ।

नेपालगञ्जमा रहेका आफन्तले घाइतेको औषधि खर्च र रेखदेख गरिहेका छन् । 

परिवारका सदस्य नभएको कारण अप्रेशन गर्ने प्रकृयामा ढिलाइ भैरहेको र अप्रेसन नथालिएको भेरी अस्पतालका डा. रुपानन्द अधिकारीले बताउनुभयो ।

परिवारका नातेदार नभएका कारण मृतक भैरे बिकको शव बुझाउन पनि ढिलाइ भैरहेको छ ।

घाइतेका परिवारजनलाई लिएर नेपालगञ्ज पुग्ने क्रममा रहेको आठबीस नगरपालिका उपमेयर कल्पना थापाले बताउनुभएको छ ।

समाज