मकवानपुर प्रहरीद्वारा चार जना प्रतिवादी पक्राउ

मकवानपुर प्रहरीले विभिन्न मुद्दाका चार जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईन्द्रसरोवर गाउँपालिका– ३ बस्ने विष्णु बहादुर ठकुरी, साविक वेतिनी गाविस– ५ बस्ने संच लामा, भिमफेदी गाउँपालिका–७ मेलटार बस्ने कुमार बल र हेटौंडा उप महानगरपालिका–१४ कालापानी बस्ने बिजय रुम्बा रहेका छन् ।

मकवानपुर जिल्ला अदालतबाट फैसला भएर हालसम्म फरार रहेका उनीहरुलाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहाद्र कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार, विष्णु ठकुरीलाई बैंकिङ कसुर मुद्दामा, संच लामालाई सामुदायिक वनको रुख विधान कार्य विपरित कटान गरेको मुद्दामा, कुमार बललाई सवारी ज्यान र अंगभंग मुद्दामा र बिजय रुम्बालाई लागूऔषध मुद्दामा जिल्ला अदालत मकवानपुरले विभिन्न मितिमा कैद सजायको फैसला सुनाएको थियो ।

पक्राउ परेका उनीहरुलाई कैद तथा जरिवाना भुक्तानका लागि शुक्रबार नै कारागार कार्यालय भिमफेदी पठाईएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

पक्राउ परेकाहरु दुई दिनदेखि एक बर्ष कैद र चार लाखसम्म जरिवाना भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

समाज