दोषी ठहरिए देउवा, ओली र प्रचण्ड कसैलाई छोड्नु हुँदैन : डा.गोविन्द केसी

भ्रष्टाचार ढाकछोपबिरुद्ध वृहत् नागरिक आन्दोलन सुरु भएको छ।

काठमाडौंको नक्सालमा नागरिक अगुवाहरू मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपबिरुद्ध वृहत् आन्दोलन सुरू गरेका हुन्।

प्रदर्शनमा बोल्दै वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले भुटानी शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन गर्न सरकारले खुट्टा कमाउन नहुने बताए। उनले भ्रष्टाचारको विस्तृत छानबिन हुनुपर्ने र निष्पक्ष रुपमा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।

उनले सरकारले शीर्ष नेताहरूको पनि छानबिन गर्नुपर्ने र छानबिनमा दोषी ठहरिए कारबाही गर्नुपर्ने बताए। उनले ठूला नेताहरू भ्रष्ट नभइकन साना तहका नेताहरूले भ्रष्टाचार गर्न हिम्मत नगर्ने बताए ।

‘भुटानी शरणार्थी काण्डमा खुट्टा कमाउनु हुँदैन। छानबिन विस्तृत हुनुपर्छ, निष्पक्ष हुनुपर्छ, शीर्ष नेता पनि दोषी पाइयो भने उनीहरूलाई कारबाही हुुनपर्छ । देउवा, ओली, प्रचण्ड पनि दोषी पाइयो भने कारबाही हुनुपर्छ। शीर्ष नेता भ्रष्ट नभइकन उभन्दा तलको नेता भ्रष्ट हुन गाह्रो छ । निर्दोष हो भने प्रहरीमा उजुरी आउँथ्यो, उनीहरू भाग्न खोज्नु र भाग्नु भनेका स्वतः प्रष्ट हुन्छ । प्रचण्डको पार्टीलाई भाग नपुगेको हो की के हो ? तर सबै पार्टी भ्रष्ट नै छन् ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहालको पार्टी भ्रष्टाचार गर्ने भाग नपुगेका कारण अहिलेको भुटानी शरणार्थी प्रकरण बाहिर ल्याएको तर कोही पनि पार्टी भ्रष्टाचार गर्नबाट ओभानो नरहेको स्पष्ट पारे।

राजनीति