मकवानपुरमा चिउरी संरक्षणमा सरकारी निकायको चासो

हेटौंडा — केही स्थानीय युवाहरु चिउरीको संरक्षणको पहल गरिरहँदा सरकारी निकायले पनि चिउरीको संरक्षणको योजना बनाएको छ । मकवानपुरको चेपाङ वाहुल्य क्षेत्र राक्सिराङ र कैलाश गाउँपालिकामा पाइने वनस्पति चिउरीको संरक्षण गर्न डिभिजन वन कार्यालय मनहरीले चासो देखाएको छ । राक्सिराङ र कैलाश क्षेत्रमा बढी मात्रामा पाइने चिउरी रैथाने वनस्पति हो । चिउरीको उपयोगिता यहाँका आदिवासी चेपाङको संस्कृतिसँग जोडिएको छ । चेपाङ समुदायमा छोरीको विवाह गर्दा चिउरीको बिरुवा दाइजो दिने परम्परा छ ।

संस्कृतिको समेत संरक्षण गर्ने र चिउरीबाट व्यावसायिक लाभ लिने उद्देश्यका साथ काम सुरु गरिएको डिभिजन वन कार्यालय मनहरीका प्रमुख विष्णुप्रसाद आचार्यले बताए । कार्यालयले अहिले चिउरीको ग्राफ्टिङ सुरु गरेको छ । पुष्प विकास केन्द्र गोदावरीका प्राविधिक सुधीर श्रेष्ठसहितको प्राविधिक सहयोगमा कार्यालयको नर्सरीमा चिउरीको ग्राफ्टिङ नयाँ प्रयोग सुरुवात गरिएको कार्यालय प्रमुख आचार्यले भने ।

नर्सरीमा उत्पादन भएका बिरुवा राक्सिराङ गाउँपालिका वडा नम्बर ६, ७, ८ र ९ लगाइने पनि बताइएको छ । चिउरीको पात र काठबाट टिकाउ किसिमको दुनाटपरी तथा फर्निचर बन्छ । बँकी उत्पादन यसको रसिलो फल र त्यसभित्रको बिजुला ९कोया० बाट हुन्छ । ुग्राफ्टिङ चिउरी बिरुवाले २–३ वर्षभित्र उत्पादन दिने अपेक्षा वन कार्यालयको रहेको छ । ग्राफ्टिङ वाहेक अन्य नर्सरीमा उमारेको बिरुवाले उत्पादन दिन करिब १० वर्ष लाग्छ । राक्सिराङको ६, ७, ८ र ९ नम्बरको क्षेत्रलाई चिउरी पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको छ, कार्यालय प्रमुख आचार्यले भने ।

राक्सिराङ र कैलाश गाउँपालिकाका युवाहरु आफ्ना बालबालिका र परिवारसरह चिउरी संरक्षण गर्ने प्रतिबद्धतासहित जुटिरहेका छन् । परम्परागत र प्राकृतिक रूपमा चिउरीसँग सांस्कृतिक रुपले विशेष सम्बन्ध रहँदै आएको चिउरीलाई आम्दानीको स्रोतसँगै पर्यावरण संरक्षणलाई जोडेर चिउरीको संरक्षणमा जुटेका हुन् । मकवानपुरस्थित राप्ती डिभिजन वन कार्यालय चिउरीको संरक्षणसँगसँगै वृक्षारोपण पनि सुरु गरेको छ । पुराना र बुढा चिउरीका रुखहरु क्रमशः मासिने अवस्थामा पुगेकाले चिउरीको वृक्षारोपणसँगै भर्खरका चिउरीका रुखहरु संरक्षण गर्नुपर्ने नत्र चिउरी जंगल मासिनसक्ने डिभिजन वन कार्यालयका प्रमुख आचार्यको भनाइ छ ।

पछिल्लो समय चिउरी नासिँदै गएपछि चेपाङको चिउरीप्रतिको अपनत्वसमेत हराउँदै गएको अवस्था छ । चिउरीबाट हुने आम्दानीको स्रोत क्रमशस् गुम्दै गएको छ। सीमान्तकृत समुदाय चेपाङको आयआर्जनसँग पनि जोडिँदै आएको चिउरी मकवानपुरको राक्सिराङ गाउँपालिकाको चेपाङ बाहुल्य क्षेत्र वडा नम्बर ५, ६, ७, ८ र ९ मा रोप्ने र भएका चिउरीका बोट संरक्षण गर्ने अभियान थालिएको छ ।

चिउरी पाकेपछि फल, घिउ, तेल, पिना, मह उत्पादन आदिमा प्रयोग हुँदै आएको छ । चिउरीलाई चेपाङ समुदायको जीविकोपार्जनसँगै जोड्दै स्थायी आम्दानीको स्रोतमा परिणत गर्न चेपाङ चिउरी युवा क्लबका आयोजना र राष्ट्रिय जनवकालत मञ्च काठमाडौको सहकार्यमा चिउरी अधिक हुँदै आएको क्षेत्रमा चिउरी संरक्षण शिविर सञ्चालन गरेको छ ।

चिउरीको बियाँ प्रशोधन गरिएको तेल छालाको हेरचाहको सौन्दर्य प्रशोधनका सामग्री उत्पादन, मैनबत्ती र साबुन उत्पादनमा उपयोगी मानिन्छ। मञ्चले उक्त पालिकाको चार स्थानमा चिउरी संरक्षण शिविर संचालन गरिएको थियो । शिविरमा सहभागीले चिउरीका बिरुवा लगाउनुका साथै आफ्नो सन्तानसरह संरक्षण र हुर्काउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

चिउरी पाकेपछि खान र चिउरीको बियाँको घिउ उत्पादन गर्दै आएकोमा पछिल्लो समय चिउरी अधिक भएको क्षेत्र पश्चिमी मकवानपुर राक्सिराङ गाउँपालिकाको वडा नम्बर ६, ७, ८ र ९ मौरीपालन पकेट क्षेत्रको रूपमा समेत विकास भएको छ । चिउरीको जंगल भएको क्षेत्रमा मौरीपालन गरेर राम्रै आम्दानी लिन सफल भएका छन । राक्सिराङ गाउँपालिकाका आइतेसिंह चेपाङले मौरीपालनबाटै लाख रुपैयाँ कमाउन सफल भएका छन् । उक्त कमाई चिउरीको रुखको कारण सम्भव भएको हो । पुराना चिउरीका रुख नासिँदै गएको र नयाँ नलगाउँदा चिउरीबाट हुँदै आएको आम्दानीको स्रोत गुम्नसक्ने भएकाले सरकारी तथा गैरसरकारी र स्थानीयवासी चिउरीको संरक्षणमा जुटन थालेका हुन स्थानीय माविका प्रधानाध्यापक ताराप्रसाद दुवाडीले बताए ।

आफ्नो आम्दानीसँगै परम्परागत संस्कृति पनि गुम्ने भएकाले चिउरी संरक्षणप्रति चेपाङ समुदाय जागरुक हुन थालेका छन् । चेपाङ समुदायमा छोरीको विवाह भएको चौथो वर्षमा दाइजोका रूपमा चिउरीको बोट दिने प्रचलन रहेको छ । चेपाङ समुदायको सामाजिक र आर्थिक जीवनसँग जोडिएको चिउरीको संरक्षण गर्दै राक्सिराङ–६ स्थित सिलिङ्गे सामुदायिक वन उपभोक्ता समितिले पाँच हजार चिउरीका बिरुवाको नर्सरी उत्पादन गरिरहेको छ। चिउरीको संरक्षणले चेपाङ समुदायको अर्थोपार्जनमा सहयोगसँगै वातावरण संरक्षण र भूक्षय रोक्नसमेत सहयोगी हुने भएकोले अभियानका रूपमा चिउरीको संरक्षण गत चार वर्षदेखि फिनल्यान्ड सरकारको सहयोगमा विभिन्न कार्यक्रममार्फत गर्दै आएको संयोजक थलबहादुर थापाले बताए ।

मञ्चको समन्वयमा भदौ महिनाभित्रमा १६८ परिवारलाई चिउरीको बिरुवा रोप्न प्रदान गरिने भएको छ ।यसैगरी राक्सिराङ–६ लाई चिउरी पकेट क्षेत्रका रूपमा विकास गर्दै चिउरीलाई चेपाङको जीविकोपार्जनसंग जोड्न सिलिङ्गे सामुदायिक वन क्षेत्रमा गत आर्थिक वर्षमा चिउरी रोपण गरेको डिभिजन वन कार्यालय राप्ती मकवानपुरले चालू आवमा समेत निरन्तरता दिइरहेको छ । सिलिङेमा करिब एक लाख २० हजार भन्दा बढी चिउरीका रुखहरु रहेका छन् । तीमध्ये अधिकांश बुढा र पुराना छन् ।

विगत केही वर्षदेखि सिलिङेका बासिन्दाले चिउरीको मात्र होइन चमेराको पनि संरक्षण गर्न थालेका छन । चमेराको अभावमा चिउरीको गेडा नलाग्ने भएकाले चमेराको संरक्षण गर्न थालेका हुन् । चिउरीको रुखमा परागषेचन गराउने मुख्य माध्यम नै चमेरा हो । विगतमा चेपाङ समुदायले चमेरा मारेर खाने गर्दथ्ये । सिलिङेमा अहिले चमेरा मार्न रोक लगाएका छन् । मकवानपुरस्थित सिलिङेको जंगल नै चिउरीको जंगलको हो । चिउरीको रुखको कारणले भूक्षय रोक्नुको साथै चैत वैशाखमा चिउरीको पात झर्दैन। हरिरयाली हुन्छ ।
ुचिउरीको मह स्वास्थ्यवर्धक र उच्चगुणस्तरको हुने भएकाले सिलिङेमा विगतमा बाहिरी जिल्लाका मौरीपालक कृषकहरुले मौरी चराउन ल्याउन भीड लाग्ने गरेको थियो । विगत केही वर्षदेखि सिलिङे सामुदायिक वनले आाहिरी जिल्लाका मौरीपालक कृषकहरुलाई मौरी चराउन ल्याउन रोक लगाएको छ ।

चिउरी समुन्द्री सतहबाट तीन सय मिटरदेखि एक हजार पँच सय मिटरसम्मको मध्यपहाडी क्षेत्रमा हुने सदाबहार बिरूवा हो। यसको रूख २० मिटरसम्म अग्लो हुन्छ। रूख झ्याम्म हुने गरी हाँगा फैलिएका हुन्छन् ।

चिउरी स्वास्थ्यका रुपमा पनि उपयोगी बिरूवा मानिन्छ । यसमा निकै बाक्लो गरी ससाना दाना फल लाग्छ। फल खाने चलन छ। यसको बिउ पनि निकै उपयोगी छ। बोटको बोक्रा टन्सिल, कुष्ठरोग, मधुमेहजस्ता रोगमा औषधिका रूपमा प्रयोग हुन्छ। चिउरीको बिउ प्रचुर मात्रामा तैलीय अर्थात तेल भएको हुन्छ। यसले दानाको तौलको कम्तीमा ४२ प्रतिशतदेखि बढीमा ४७ प्रतिशतसम्म तेल दिन्छ । परम्परागत गाउँले प्रविधिबाटै तेल निकाल्न सकिन्छ ।

चिउरीको घिउ तोरीको तेलसरह भान्सामा प्रयोग हुन्छ। चकलेट, मैन, साबुन, मल लगायत औद्योगिक उत्पादनमा पनि प्रयोग हुन्छ । चिउरी मैनबत्ती, साबुन, क्रिम, जुस र विभिन्न कस्मेटिक सामग्री बनाउनसमेत प्रयोग गरिन्छ । चिउरीको फल मानिसका लागि खानाको रुपमा पनि प्रयोग गरिँदै आएको हुँदा चिउरीबाट व्यवसायिक लाभ लिने जमर्को गरिएको आचार्यको भनाइ छ । चिउरी बहुउपयोगी बिरुवा भएकाले यसको संरक्षणका लागि अभियान सञ्चालन गरिएको हो उनले भने । कान्तिपुरबाट ।

समाज