सरकार निजी क्षेत्रमैत्री हुनुपर्छ : डा. स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रमैत्री बन्नुपर्ने बताएका छन्।

मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वदेशी समिट कार्यक्रममा वाग्लेले सरकारले निजी क्षेत्रमैत्री नीति लिए मात्रै देशको आर्थिक समृद्धि हुने बताएका हुन्।

उनले निजी क्षेत्र संलग्न नहुने क्षेत्रमा राज्यले लगानी गर्ने सरल सिद्धान्तबाट सरकार जानुपर्ने बताए। उनले निजी क्षेत्र पखेटा फिँजाएर उड्नको लागि आवश्यक नीतिगत बाटो पहिल्याउन आवश्यक रहेको बताए। उनले सरकारले निजी क्षेत्रमैत्री वातावरणका सम्भावनाका बारेमा बहस आवश्यक रहेको पनि बताए।

उनले निजी क्षेत्रले सिर्जना गरेको रोजगारी, सरकारलाई तिरेको करबाट राज्यको ढुकुटी समृद्ध भएमात्रै अर्थतन्त्रले कल्याणकारी राज्य धान्ने बताए। उनले अब मुलुकका युवाहरुलाई उद्यमशीलतामार्फत देश निर्माणमा लगाउनुपर्ने पनि बताए।

उनले डेमोग्राफिक प्रोजेक्शनअनुसार देशको जनसंख्या सन् २०२८ मा एजिङ सोसाइटीमा जाने भन्दै अबको ५ वर्ष धैर्य गर्ने समय कसैसँग नहुने बताए। उनले अबको १५ वर्षको मुलुकको अर्थतन्त्रको स्वरुपको कस्तो बनाउने भन्ने यकिन हुनुपर्ने बताए।

उनले भने,‘सरकार निजी क्षेत्रमैत्री बन्नुपर्छ। निजी क्षेत्रलाई सम्भावनाका अनुरुप के-के गर्नुपर्छ त्यसमा बहस गरौं। निजी क्षेत्रले सिर्जना गरेको रोजगारी, सरकारलाई तिरेको करबाट राज्यको ढुकुटी जति समृद्ध हुन्छ त्यति नै कल्याणकारी राज्यलाई धान्न सकिनेछ। निजी क्षेत्र संलग्न नहुने क्षेत्रमा राज्यले लगानी गर्ने हो। निजी क्षेत्र पखेटा फिँजाएर उड्नको लागि कस्तो बाटोमा लाने हो‚ त्यसमा हामीले लिएर जान्छौं। हामीले गरेको डेमोग्राफिक प्रोजेक्शनअनुसार सन् २०२८ मा हामी एजिङ सोसाइटीमा जान्छौं। हामीसँग अबको ५ वर्ष धैर्य गर्ने वा कुर्ने समय छैन। सन् २०५० एज्ड सासाइटीमा जान्छौं। अबको १५ वर्षको मुलुकको अर्थतन्त्रको स्वरुपको स्ट्रक्चर बनाउनुपर्छ‚ छोटो समयमा प्रगति गर्नुपर्ने हुन्छ। १० वर्षमा भारत पनि धेरै परिवर्तन भइरहेको छ। विश्वका नम्बर एक कम्पनीहरुलाई नेपालमा आकर्षण गर्न सकेनौं। राजनीतिक आन्तरिक कलहको कारण विदेशी लगानी आकर्षण गर्ने अवस्था नै थिएन।’

उनले छिमेकी मुलुकहरुले आर्थिक रुपमा धेरै फड्को मारेको भन्दै विदेशी लगानी भित्रने वातावरण बनाउन आवश्यक रहेको बताए।

उनले नेपालले केही समयअघि आन्तरिक कलहको कारण विश्वका ठूला कम्पनीहरुको लगानी नेपालमा आकर्षित गर्न नसकिएको बताए।

राजनीति