९ करोड ४२ लाख खर्च गरेर दोस्रो संस्करणको प्रदेश खेलकुद प्रतियोगिता गर्दै बागमती प्रदेश सरकार

हेटौंडा । दोस्रो संस्करणको प्रदेश खेलकुद प्रतियोगिता यहि जेठ ७ गतेबाट हेटौंडाको हेटौंडा-५ स्थित क्याम्पा रंगशालामा हुने भएको छ ।

बागमती प्रदेश सरकारको प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गर्न लागेको प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जानकारी दिएको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले प्रतियोगितामा ९ करोड ४२ लाख खर्च हुने बताए ।

उनले प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गर्ने बताउँदै प्रतियोगितामा फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, उसु, जुडो, क्रिकेट, रग्वी, ब्याडमिन्टन, पौडी र आइटिएफ तेक्वान्दो गरी १३ प्रकारको खेलहरु हुने बताए ।

प्रतियोगितामा प्रदेशका १३ वटै जिल्लाका महिला र पुरुष खेलाडी गरी २ हजार ५०२ खेलाडीले भाग लिनेछन् ।

पत्रकार सम्मेलनमा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मुक्तानले विभिन्न खेलकुद प्रतियोगितासँगै प्रदेश सरकारले पूर्वाधार निर्माणमा जोड दिएको बताइन् ।

यसअघि २०७८ को फागुनमा भएको प्रथम प्रदेश खेलकुद प्रतियोगितामा ८ करोड ४ लाख रुपैयाँ खर्च भएको थियो ।

यसपटक अघिल्लो पटकको भन्दा १ करोड रुपैयाँ बढी खर्च हुने आयोजकको अनुमान छ ।-khabar break


समाज