हेटौंडाका १८ महिने बालकको मृत्यु

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ जाँते बस्ने १८ महिने बालक जेनिस वाईबाको मृत्यु भएको छ । जेनिसको प्यारा क्वाईट डाइक्लोराईड नामक झार मार्ने विषादी सेवनबाट आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, बुधबार साँझ ५ः५० जेको समयमा स्थानीय ३६ वर्षीया सानी पाख्रिनले आफ्नै छोरा वर्ष ७ को अस्किन वाईबा र १८ महिने छोरा जेनिस वाईबासहित आफुले उक्त विषादी सेवन गरेकी थिइन् ।

उक्त विषादी सेवनबाट गम्भीर बिरामी भएका उनीहरुलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याईएको थियो । हेटौंडा अस्पतालमा उपचार हुन नसकेपछि उनीहरुलाई बुधबार राति ८ः२० बजेको समयमा नै थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवनमा रिफर गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

तीमध्ये १८ महिने जेनिसको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान ७ः५० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

अन्य दुई जनाको भने सोही अस्पतालमा उपचार भइरहेको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

समाज