पानी नपर्दा खेतमा सुक्दै मकै,धानको बीउ राख्न नपाएर किसान चिन्तित

आचँल तिमल्सिना

लामो समय पानी नपर्दा र प्रचण्ड गर्मीले जनजीवन कष्टकर बनेको छ। घरभित्र पनि गर्मी अत्यधिक हुने र घरबाहिर अत्यन्त चर्को घाम हुने भएपछि जनजीवन कष्टकर भएको हो।

लामो समयसम्म पानी नपरेपछि आकाशे पानीको भरमा खेती गर्दै आएका किसान चिन्तित बनेका छन्। खेती किसानीबाट जीविका चलाउँदै आएका उनीहरूले लगाएका तरकारी, मकैका बोट सुक्दै गएको देखेर चिन्तित परेका हुन्।


मकवानपुर जिल्लामा मकैमा ठिक्क धानचमरा लाग्ने समय भयो । तर, खान हुने घोगा लाग्ने बेलाको मकै सुक्न थालेको छ.

यस्तै, लामो समयसम्म पानी नपरेर सिँचाइका अन्य विकल्प नपाइएपछि धमाधम बोटमै तरकारी सुक्न थालेका छन । खेतबारीमा लगाइएका मकैका बोट बारीमै सुकेर खरजस्तै भएका छन । साथै भण्टा, परबल, घिरौला, झिमनी, भिण्डी, करेला, बोडी, फर्सी र लौकासहितका तरकारीका विरुवा पानीबेगर सुकिरहेका छन्।

गत वर्ष लगाएको तरकारी निकै फस्टाएको थियो तर गत कात्तिकदेखि खासै पानी नपरेको तथा एक महिनादेखि अत्यन्तै चर्को घामले जनजीवन अस्तव्यस्त पार्दा खेतमा लगाएको मकैका पात छुँदा झुरुमझुरुम झरेका छन्, तरकारी घामले डढाएको छ।

सिँचाइको पहुँच नभएको र आकाशे पानीको भरमा लगाएको मकैबाली, तरकारीको बोट सुक्न थालेको हो । कतिपय किसानले खेतमा सुक्न थालेका मकै गाईबस्तुलाई खुवाउन थालेका छन् । केहीले भने अझै पनि वर्षाको आस गरिरहेका छन् ।


मनसुन सुरु भइदिएको भए पहाडी क्षेत्रमा यतिबेला किसानलाई धान रोपाइँको चटारो हुन्थ्यो । बारीमा मकैभित्र कोदो रोप्न भ्याइनभ्याइ उत्तिकै हुन्थ्यो । तर यतिबेला लामो समयदेखि पानी परेको छैन । खडेरी र तापक्रम वृद्धिका कारण विभिन्न जिल्लामा बर्खे बाली सुक्न थालेको छ । अर्कातिर धानको ब्याडसमेत सुक्न थालेको छ ।

खेतीमा व्यस्त हुनुपर्ने बेलामा भइरहेको मौसमी प्रतिकूलताले किसान चिन्तित छन् ।
किसानले जेठको पहिलो सत्तादेखि दोस्रो सातासम्म धानको बीउ राखि सक्नुपर्ने थियो। असार लाग्न केही दिन मात्र बाँकी रहँदासमेत किसानले धानको बीउ नराख्दा यो वर्ष धान रोपाइँमा ढिलो हुने किसानहरू बताउँछन्।


जिल्लामा वर्षे धान रोपाइँ ढिला हुने देखिएको छ । लामो खडेरीका कारण धानको बीउ पनि राख्न नपाएकाले रोपाइँ पछि सर्ने आकलन भइरहेको हो । जेठ सकिनै लाग्दा पनि बीउ राख्न नपाउँदा किसानमा छटपटी छ ।

असारको पहिलो वा दोस्रो साता रोपाइँ गर्न अहिले बीउ नछर्ने हो भने रोपाइँ नै ढिलो हुने भन्दै किसान चिन्तित भएका हुन् ।


भर्खर उम्रेका धानका बीउ ब्याडमै सुक्न थालेका छन् । खासगरी धूले बीउ सुक्खा र गर्मीले बढी प्रभावित भएका छन् । त्यस्तै, कोदोको ब्याडमा बीउ नउम्रने र उम्रेका पनि सुकेको किसान बताउछन ।

समाचार