असार १६ देखि गिट्टी बालुवा बिक्री वितरण रोक्ने घोषणा

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले क्रसर उद्योग नवीकरण नभएको भन्दै यही असार १६ गतेदेखि ढुङ्गा, गिट्टी, बालुवाको बिक्री वितरण रोक्ने घोषणा गरेको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले गत माघ ११ मा भएको क्रसर उद्योगको दर्ता नवीकरण गर्ने निर्णय कार्यान्वयन नभएको गुनासो गरेको छ ।

असार १५ सम्म माग पूरा नभए देशभरका क्रसर उद्योगबाट निर्माणजन्य सामग्रीको आपूर्ति ठप्प पार्ने महासंघका अध्यक्ष सीताराम न्यौपानेले बताए ।

सरकारले पछिल्लोपटक दिएको म्यादअनुसार अवैध रुपमा चलिरहेका क्रसर उद्योगहरु आगामी असार मसान्तभित्र वैध भएर सञ्चालन गरिसक्नुपर्छ ।

गत माघमा मन्त्रिपरिषद्ले तत्कालीन समयमा इजाजत लिई दर्ता भएका तर, मापदण्डका कारण नवीकरण हुन नसकेका उद्योगलाई असारसम्मका लागि नवीकरण गर्ने निर्णय गरेको थियो । तर, उद्योगीहरुले सरकारको निर्णयले दर्ता भएका सबै उद्योगहरु स्वतः वैध हुने दाबी गरेका छन् ।

मन्त्रिपरिषद्को निर्णय अस्पष्ट भएको भन्दै जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयहरु क्रसर नवीकरण गर्न तयार भएका छैनन् ।

समाचार