गुनासो सुन्न प्राधिकरणमा सुरुभयो कल सेन्टर

हेटौंडा । विद्युत सम्बन्धि सर्वसाधारणको गुनासो सुन्नका लागि नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाले कल सेन्टर सञ्चालनमा ल्याएको छ ।
बुधबार एक कार्यक्रमकाबीच डिभिजन प्रमुख दिपेन्द्रराज द्विवेदीले कल सेन्टरको उद्घाटन गरेका हुन् । विद्युत सम्बन्धि गुनासोका लागि ११५० डायल गरी ८ थिच्नुपर्ने हुन्छ ।
यस कल सेन्टरबाट प्रदेश डिभिजन कार्यालय अन्तर्गत पालुङ, हेटौंडा र सिन्धुली वितरण केन्द्रको उपभोक्ताले आफ्नो गुनासो टिपाउन सक्नेछन् । तत्काललाई कल सेन्टरमा ४ वटा फोन राखिएको छ ।
बिहान ९ देखि बेलुका ६ बजेसम्म सर्वसाधारणले कल सेन्टरमा फोन गर्न सक्ने उनले बताए । ‘यसबाट विद्युत प्राधिकरणको नो लाइटको फोन उठेन भन्ने गुनासो हल हुनेछ’, डिभिजन प्रमुख द्विवेदीले भने, ‘अहिलेलाई बिहान ९ देखि साँझ ६ बजेसम्म फोन गर्न सकिनेछ । केही समयमा दैनिक १२ घन्टा सेवा दिने तयारीमा छौं ।’
हेटौंडा वितरण केन्द्र प्रमुख नरेन्द्र श्रेष्ठले बिद्युत अवरुद्ध हुनासाथ नो लाइटमा निरन्तर फोन आउने गरेको जानकारी दिँदै अब यो समस्या हल हुने विश्वास व्यक्त गरे ।
‘लाइन जाने बित्तिकै नो लाइटको नम्बर निकै व्यस्त हुन्छ । त्यतिले मात्र नभएर कर्मचारीको नम्बरमा पनि उत्तिकै फोन आउँछ’, श्रेष्ठले भने, ‘हाम्रो कार्मचारीलाई फोन रिसिभ गर्न राख्ने कि फिल्डमा काम गर्न पठाउने भन्ने समस्या छ ।
अब यो समस्या केही हदसम्म समाधान हुनेछ ।’ प्राधिकरणका सूचना प्रविधि विभागका सुजन श्रेष्ठले एक महिनापछि बाँकी वितरण केन्द्रमा पनि यो सेवा सुरु गरिने जानकारी दिए ।
नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाले पालुङ, हेटौंडा र सिन्धुली वितरण केन्द्र अन्तर्गतका उपभोक्ताका लागि कल सेन्टर सञ्चालनमा ल्याएको हो ।-prastakhabar

समाचार