हेटौंडामा बस दुर्घटना हुँदा ५२ जना घाइते, एकको अवस्था गम्भीर

पूर्व–पश्चिम राजमार्गअन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, नवलपुरमा आज अपराह्न यात्रुवहाक बस दुर्घटना हुँदा ५२ जना घाइते भएका छन् ।

चितवनको नारायगढबाट जनकपुरतर्फ जान आइरहेको ना ६ ख ९८०४ नम्वरको यात्रुवहाक बस अनियन्त्रित भई दुर्घटना हुँदा ५२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।

प्रहरी निरीक्षक घिमिरेका अनुसार, घाइतेमध्ये एक जनाकाृ अवस्थामा गम्भीर रहेको र उनलाई चुरेहिल अस्पतालमा सामान्य उपचारपश्चात चितवनको भरतपुर अस्पतालमा रिफर गरिएको छ ।

यस्तै, सोही दुर्घटनामा परेर घाइते भएका २१ जनाको हेटौंडास्थित चुरेहिल अस्पताल र ३० जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको हाल पहिचान खुल्न बाँकी रहेको उनले बताए ।

बस चालक भने अहिलेसम्म प्रहरीको सम्पर्कमा नरहेको र उनको खोजतलास कार्य जारी रहेको प्रहरी निरीक्षक घिमिरेले बताए ।

समाचार