रोकिएका विधेयकबारे संसदीय पत्रकारले लेखेनन् : अध्यक्ष तिमिल्सिना

 राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय पत्रकारहरूले विधेयकहरूको बारेमा कलम चलाउनुपर्ने बताएका छन्।

शनिबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उनले संसदीय मामिला हेर्ने पत्रकारहरूले एउटै विधेयकहरू संसदबाट बारम्बार फर्किने, समितिमा अल्झिएर बस्ने र वर्षौंवर्षसम्म नआउने लगायतका विषयहरूमा कलम चलाउन नसकेको गुनासो गरेका हुन्। उनले विधेयकहरू बारम्बार शुन्यमा झर्दा आम नागरिकहरूलाई त्यसबाट परेको असरका बारेमा कलम चलाउन आग्रह गरे।

‘एउटा विधेयक तयार पार्दा समय, लगानी,आर्थिक पक्ष त्यो विधेयकले दिने सेवा कति प्रभावित भएको हुन्छ, लिएर आयो ५÷६ वर्षसम्म विधेयक थन्क्याउने, त्यसलाई अघि नबढाउने, एउटा सदनले पास गरेको अर्कोमा लगेर त्यत्तिकै राखेर त्यो शुन्यमा जाँदा के हुन्छ ? यस्ता कुरामा औंला ठड्याउनु पर्छ। कुन समितिमा गएर कति समय लाग्यो, विधेयक रोकेको कति भयो ? किन राख्यो त्यसलाई उजागर गर्नुपर्छ’, उनले भने, ‘सभामुख, अध्यक्ष, मन्त्रीहरूले के गरे भन्नेमा खोजि-खोजि नभएको पनि लेख्ने तर विधेयक ल्याएर कहाँ कति रोकियो, किन रोकियो त्यसको सोधीखोजी नगर्ने गर्नु हुँदैन। विधेयक कहाँ कसरी अड्कियो, त्यसको असर के ? त्यसमा नआउने कसरी संसदीय मामिला कस्तो हुन्छ ? यस्ता कुरामा हामीले ध्यान दिनुपर्छ। तपाईंहरूले यसमा लेख्दा विधेयक छिटो आउँछ। दबाब बढ्छ।’

अध्यक्ष तिमिल्सिनाले पत्रकारहरूले विधेयक ल्याउन भइरहेको ढिलासुस्तीमा दबाब दिनसके विधेयकहरू समयमा नै आउने बताए।

राजनीति