कांग्रेस डराएर १० सिटेलाई डेढ वर्ष प्रधानमन्त्री मान्ने ठाउँमा पुग्यो : थापा

 नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस पार्टी डराएर संसदमा १० सिट भएका माधव नेपाललाई डेढ वर्ष प्रधानमन्त्री मान्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन्। 

नेपाली कांग्रेस दोलखा काठमाडौं सम्पर्क समितिको पहिलो अधिवेशनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै महामन्त्री थापाले अबको नीति महाधिवेशनले सत्तामा जानका लागि विधिभन्दा बाहिर जे पनि गर्दैनौँ भन्ने कुरा लिपिबद्ध गर्नुपर्ने बताए।

 ‘अब अहिले प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ, १० वटा सिट जितेको पार्टीको नेतालाई अर्को डेढ वर्ष प्रधानमन्त्री मानेर, थापेर, टाउकोमा राखेर बुई चढाएर कांग्रेस अन्तिम पटक एक डेढ वर्ष प्रधानमन्त्री बन्ने ठाउँमा कांग्रेस किन पुग्यो? किनभने हामीले मानेनौं भने अर्कोसँग मिल्छ भनेर हामी डराएका छौं।’ थापाले भने, ‘नेपाली कांग्रेसले विधिको शासनमा सम्झौता हुन्छ भने त्यसलाई मानेर सरकारमा जाँदैन भनेर लेख्नुपर्‍यो।’

उनले चुनावको टिकट वितरण प्रणालीलाई नसुधार्ने हो भने पार्टीभित्र अहिलेको बेथिती कायमै रहने बताए। 

‘पार्टीमा दाइलाई टिकट दिने अधिकार दिएपछि दाइले भाउजु नै छान्ने हो‘, थापाले भने, ‘दाइ कहिले म होला कहिले अर्को होला तर जसलाई दिए पनि दाइले भाउजुलाई नै टिकट दिने हो । त्यसैले टिकट दिने अधिकार सक्दो हामीले तल्ला कमिटीमा लैजानु पर्छ।’

राजनीति