समाजवादी मोर्चाको नेतृत्वमा ६ महिने आलोपालो

समाजवादी मोर्चामा आवद्ध दलहरुले मोर्चाको अध्यक्षता ६/६ महिनामा परिवर्तन गर्ने सहमति भएको छ ।

शनिबार एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको बैठकबाट मोर्चाको अध्यक्षता ६÷६ महिनामा पालैसँग गर्ने सहमति भएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

यसअघि मोर्चामा नेतृत्व आलोपालो गर्ने समझदारी भए पनि कति–कति समयमा नेतृत्व गर्ने भन्ने तय भएको थिएन । शनिबारको बैठक माधव नेपालको अध्यक्षतामा बसेको थियो ।

बैठकले सातै प्रदेशको राजधानीमा कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । तर, त्यसको मिति भने २७ गते बस्ने बैठकले तय गर्ने नेता पाण्डेले बताए ।

बैठकले मोर्चाको नीति तथा कार्यक्रम र आचारसंहिता बनाउन चार सदस्यीय कार्यदल गठन गरेको छ । जसमा नेकपा माओवादी केन्द्रका देव गुरुङ, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका प्रमेश हमाल र नेपाल कम्युनिस्ट पार्टीका खड्गबहादुर विश्वकर्मा रहेका छन् ।

चार दलले ४ असारमा समाजवादी मोर्चा गठन गरेका थिए । समाजवादी मोर्चामा आवद्ध दलका प्रतिनिधि सभामा ५४ सांसद छन् ।

राजनीति