भक्तपुरकाे थिमिमा १ सय ५० शय्याको अस्पताल बनाउन दक्षिण कोरियासँग सम्झौता

भक्तपुर – भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा एक सय ५० शय्याको सुविधा सम्पन्न अस्पताल बन्ने भएकाे छ । 

आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि कोरियाका राजदूत पार्क, ते–योङले अस्पताल निर्माणकाे सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौताअुनसार नेपाल–कोरिया मैत्री नगर अस्पताललाई विस्तार गर्न अमेरिकी डलर ९५ लाख ( एक अर्ब २५ करोड ४० लाख रुपैयाँ) लगानी गरिने भएको छ  । आउँदाे पाँच वर्ष (सन् २०२७) सम्ममा पूरा गरिसक्ने लक्ष्य रहेको याे परियोजनामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहकार्य एवम् समन्वयमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका), मध्यपुर थिमि नगपालिका र याे अस्पतालले संयुक्त रहने भएको छ।

सम्झौताअनुसार नगरपालिका अस्पतालको छेउमा रहेको जग्गामा एक सय ५० शय्याको नयाँ अस्पताल निर्माण गरिने र आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने तथा कर्मचारीका लागि क्षमता विकासका काम गरिने जनाइएको छ ।

नेपालका लागि कोरियाली राजदूत पार्क, ते–योङले नयाँ अस्पताल नागरिकका लागि निकै उपयोगी हुने बताउँदै यस परियोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सरकारका तर्फबाट पूर्ण सहयोगको अपेक्षा रहेको बताउनुभयो । द्विपक्षीय कुटनीतिक सम्बन्धको ५०औंँ वर्षगाँठ मनाउन कोरिया इन्छुक रहेको पनि उहाँको भनाइ छ । 

अर्थ मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले कोरियाली सरकार नेपालको महत्त्वपूर्ण विकास साझेदार रहेको बताउनु भयाे । कोइकाका निर्देशक कोङ मुहओनले कोइका नेपालका विभिन्न स्वास्थ्य परियोजना कार्यान्वयनमा सक्रिय रहेको र हरेक परियोजनाले विशिष्ट उपलब्धि हासिल गरिरहेको बताउनुभयो । यस  अस्पतालको दोस्रो चरणको सेवाले  नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने र भक्तपुर तथा आसपासका जिल्लाका आर्थिकरूपमा कमजोर नागरिकका लागि विशिष्टिकृत स्वास्थ्यसेवामा पहुँच पुर्याइने जानकारी उहाँले दिनुभयो ।

समाचार