एमालेको धुप-बत्तीले सरकार ढल्दैन : मन्त्री ज्वाला

 भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिलेको सत्ता गठबन्धन बलियो भएकाले कसैले चाहँदैमा नढल्ने दाबी गरेका छन्।

आइतबार जनकपुरधाम पुगेका मन्त्री ज्वालाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन्। उनले नेकपा एमालेप्रति लक्षित गर्दै गठबन्धन ढलोस् भनेर धुप, बत्ती बाल्दैमा गठबन्धन नढल्ने टिप्पणी गरे।

उनले प्रतिगमनका विरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरु एक ठाउँमा रहेको उल्लेख गर्दै गठबन्धन ढाल्ने सपना नदेख्न आग्रह गरे। उनले गठबन्धन ढालेर केही पाइहाल्छौँ कि भन्ने आशा गर्नेहरुले आशावादी नबन्न आग्रह गरे।

उनले भने, ‘अहिलेको गठबन्धन बलियो धरातलमा उभिएको छ, यो कसैले गठबन्धन ढलोस् भनेर चाहँदैमा, धुप बत्ती गर्दैमा गठबन्धन ढल्दैन। किनभने यसको ग्राउण्ड छ। प्रतिगमनका विरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरु छन्। चुनावका बेलामा सँगै अघि बढेका शक्तिहरु एक ठाउँमा छन्। जटिल मोडहरुमा एकताबद्ध भएका शक्तिहरु एक ठाउँमा छन्। यो ढलेर फाइदा पाइहाल्छौँ कि भनेर आशावादी भएकाहरुको आशा पूरा हुँदैन।’

मन्त्री ज्वालाले समाजवादी मोर्चा सरकार बलियो बनाउने र टिकाइरहने मात्रै नभई गठबन्धनको दीर्घकालीन फाइदाका लागि बनेको बताए। 

राजनीति