हेटौंडाबाट लागूऔषधसहित एक जना पक्राउ

मकवानपुर प्रहरीले लागूऔषधसहित गएराति एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित रातोमाटे चेकपोष्ट अगाडिबाट अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका वडा नम्वर २ राधेमाई बस्ने ३५ वर्षीय किरण देबिना रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, किरणलाई प्रहरी चौकी रातोमाटेबाट प्रहरी वरिष्ठ नायव उपरीक्षक मन्जुकुमारी रानाको कमाण्डमा खटिएको प्रहरी टोलीले लागूऔषध डाईजेपामा–३५ पिस, फेनार्गन–६६ पिस र नुफिन –३४ पिससहित पक्राउ गरेको हो ।

गएराति साढे ११ बजेको समयमा वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना.५ ख ८६८८ नं.को यात्रु बाहक माईक्रोलाई शंका लागि चेकजाँच गर्दा माईक्रोमा सवार उनको साथबाट सो परिमाणको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।

समाचार