प्रधानमन्त्रीको सुशासन सल्लाहकार भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौंको नागार्जुन नगरपालिका–८ का ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र २३ वर्षीय विशाल खनाल रहेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, दुवै जनाले प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ तथा अन्य प्रमुख नेताहरूसँग चिनजान रहेको भनी विभिन्न कम्पनी तथा व्यवसायमा सहभागी गराउने विश्वास दिलाएर ठगी गर्ने गरेका थिए ।

विभिन्न कागजातहरूमा सही छाप गराई ४५ लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको तथा ना ४ च ८६७० नम्बर को स्कारपियो जीपसमेत लिई गई फरार रहेका थिए । उनीहरूबिरुद्ध इलाका प्रहरी कार्यालय दमक झापामा ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भई जिल्ला अदालत झापाबाट पक्राउ पुर्जीसमेत जारी भएको थियो ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान एंव कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमक पठाइएको जनाएको छ ।

राजनीति