सामुदायिक क्याम्पसमा होटल म्यानेजमेन्ट

मकवानपुरमा पहिलोपटक सामुदायिक क्याम्पसले होटल म्यानेजमेन्ट विषय अध्यापन गराउने भएको छ । हेटौंडा क्याम्पसले कक्षा ११ देखि होटल म्यानेजमेन्टको अध्यापन सुरु गर्ने गरी भर्ना आह्वान गरेको हो ।

निजी क्याम्पसहरुले होटल म्यानेजमेन्टको कक्षा सञ्चालन गरिरहेको भएता पनि सामुदायिक क्याम्पसबाट हेटौंडामा पहिलो पटक आफूहरुले भर्ना सुरु गरिएको हेटौंडा क्याम्पसका क्याम्पस प्रमुख देवचन्द्र मानन्धरले बताए ।

होटल म्यानेजमेन्ट अध्ययन गर्न चाहने विद्यार्थीको संख्या बढ्दै गएको पाइएपछि आफूहरुले अत्यन्तै सहुलियत शुल्कमा अध्ययन गराउन लागिएको मानन्धरले बताए । यस वर्ष क्याम्पसले ४० जना मात्रै विद्यार्थी भर्ना लिने उनको भनाई छ ।

एसईईमा १ दशमलव ६ भन्दा माथि जिपिए ल्याउने विद्यार्थीले होटल म्यानेजमेन्ट अध्ययन गर्न पाउनेछन् । होटल म्यानेजमेन्ट अध्यापनको लागि क्याम्पसलाई हेटौंडा ४ नम्बर वडाले प्रयोगात्मक पाटोमा साथ दिने भएको छ । ४ नम्बर वडा कार्यालय मार्फत् अत्याधुनिक होटल म्यानेजमेन्ट ल्याब, किचेन, रेष्टुरेन्ट, बार निर्माणको काम भइरहेको क्याम्पस प्रमुख मानन्धरले बताए ।

‘हामीसँग हाल कार्यरत जनशक्तिले नै होटल म्यानेजमेन्ट अध्यापन गराउन सक्ने अवस्था छ । ल्याबलगायत प्रयोगात्मक कक्षा निर्माणमा हेटौंडा उपमहानगरले सहयोग गर्ने भएपछि हामीले सहुलियत दरमै अध्यापन गराउनेगरी तयारी गरेका हौँ ।’ क्याम्पस प्रमुख मानन्धरले भने । १२ कक्षा पास गरिसकेपछि माथिल्लो कक्षा पढ्न काठमाडौं जानुपर्ने बाध्यता हटाउन आफूहरुले नै स्नातक तहमा होटल म्यानेजमेन्टको पढाई गर्ने सोच बनाएको पनि क्याम्पस प्रमुख मानन्धरले जानकारी दिए ।

हाल क्याम्पसले होटल म्यानेजमेन्ट अध्ययनन गर्ने विद्यार्थीलाई मासिक तीन हजार शुल्क निर्धारण गरेको छ भने भर्ना १० हजार र वार्षिक प्रयोगात्मक शुल्क ८ हजार तय गरेको छ ।

शिक्षा