प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमण सम्पन्न गरी आज शुक्रवार स्वदेश फर्कनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रिगण, उच्च सरकारी अधिकारीलगायतले स्वागत गर्नुभयो ।

संयुक्त राष्ट्र सङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड यही साउन ६ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । भ्रमणका क्रममा उहाँले ‘फुड सिस्टम समिट’ लाई सम्बोधन गर्दै जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न र अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशको कृषिमा लगानी बढाउनु जरुरी रहेको बताउनुभएको थियो । त्यस क्रममा उहाँले ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’ लाई पनि सम्बोधन गर्नुभएको थियो ।

रोममा रहँदा प्रधानमन्त्री प्रचण्ड र बङ्गलादेशी समकक्षी शेख हसिनाबीच द्विपक्षीय भेटवार्ता भएको थियो । भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको थियो । संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसबीच भेटवार्ता भएको थियो ।

यस्तै प्रधानमन्त्री प्रचण्ड र विश्व खाद्य कार्यक्रमका कार्यकारी सिन्डे म्याकनबीच भेटवार्ता भएको थियो । उहाँसँग विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यू तथा इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आईएफएडी) का प्रमुख एल्भारो लाइरोले बेग्ला–बेग्लै भेटवार्ता गर्नुभएको थियो ।

रोममा रहँदा प्रधानमन्त्री प्रचण्ड गैरआवासीय नेपाली सङ्घ इटालीले आयोजना गरेको स्वागत समारोहमा सहभागी हुनुभयो । भ्रमणका क्रममा उहाँले नेपाली प्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अस्ट्रिया र आयरल्यान्डका प्रतिनिधिसँग छलफल गर्नुभएको थियो ।

प्रधानमन्त्री नेतृत्वको भ्रमण दलमा उहाँका स्वकीय सचिव एवम् छोरी गङ्गा दाहाल, कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत, सुरक्षाकर्मी एवम् सञ्चारकर्मीलगायत सहभागी हुनुहुन्थ्यो

राजनीति