रक्तसञ्चार केन्द्र हेटौंडामा सुरु भयो रक्ततत्व निर्माण सेवा

बागमती प्रदेशको राजधानी हेटौंडामा रक्ततत्व निर्माण तथा वितरण सेवा सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाद्वारा निर्मित उक्त सेवा आज शुक्रबारबाट सुरु भएको हो ।

मनहरी गाउँपालिकाले कार्यालय व्यवस्थापनका लागि आवश्यक सहयोग गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका इन्चार्ज टंक दाहालले जानकारी दिए । केन्द्रले होल ब्लडको मात्र कार्य गर्दै आएकोमा रक्ततत्व निर्माण तथा वितरण सम्बन्धी सेवाको सुरुवात भए पश्चात मेसिनले हेटौंडामै प्लाजमा, प्लेटलेट र प्याकसेल छुट्टाछुट्टै निर्माण गरी वितरण गर्ने जनाएको छ ।

सेवाको संचालनका लागि अमेरिकन रेडक्रसबाट रक्ततत्व वर्गिकरणको आवश्यक महत्वपुर्ण उपकरणहरु सहयोग गरेको थियो । हेटौंडा उपमहानगरपालिकाले प्लाज्मा तथा प्लेटलेटलाई सुरक्षित राख्न आवश्यक फ्रिजसहितको उपकरण सहयोग गरेको थियो ।

कार्यक्रम नेपाल रेडक्रस सोसाइटी मकवानपुरका सभापति लालबहादुर थापाको अध्यक्षतामा तथा बागमती प्रदेश सभाका सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यमा भएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य सेडाई, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाई, रेडक्रस मकवानपुरका उपसभापति खेमराज सापकोटा, मन्त्री सुमित्रा काफ्ले, कोषाध्यक्ष किशोर बर्तौला, उपमन्त्री शिवहरि दाहाल, कार्यालय प्रमुख लक्ष्मण भट्टराई लगायत जिल्ला शाखा सदस्यहरु, विभिन्न उपशाखाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

समाज