फौजदारी अभियोग लागेपछि स्वतः निलम्बन हुने व्यवस्था गराैँ : प्रदीप पाैडेल

रुपन्देही – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले भष्ट्राचार र फौजदारी अभियोग कानुनी विषय भएकाले यसलाई भावनात्मक बनाउन नहुने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आज आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा युवा नेता पौडेलले फौजदारी अभियोग लागेपछि पार्टीका सबै जिम्मेवारीबाट मुक्त हुने व्यवस्थाको कडाइका साथ पार्टीले पनि कार्यान्वयन गर्नुपर्ने बताउनुभयाे । उहाँले अभियोग लागेपछि छानबिन पूरा नहुँदासम्म पनि निलम्बन हुने वैधनिक व्यवस्था हुनुपर्ने बताउनुभयो ।

नेता पौडेलले सुन काण्डको प्रभावकारी र पारदर्शी छानबिन हुनुपर्ने भन्दै भरियालाई दोषी बनाएर मुख्य अभियुक्तलाई उन्मुक्ति दिने प्रयास गरिए गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डाक्टर प्रकाशशरण महतको राजीनामा मागिने बताउनुभयो ।

११ महिनापछि बसेको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण हुनु पारदर्शीताको नमुना हो भन्दै उहाँले अबका बैठकहरू पनि प्रत्यक्ष प्रसारण हुनुपर्ने बताउनुभयो । आउँदाे मङ्सिरमा हुने महासमितिको बैठकले कांग्रेसलाई ‘मास बेस्ड बनाउने कि क्याडर बेस्ड’ बनाउने भन्नेमा निर्णय गर्ने भन्दै केन्द्रीय सदस्य पौडेलले आफू भने ‘मास बेस्ड’ पार्टीको संरचनाको पक्षमा उभिने उल्लेख गर्नुभयाे ।

सङ्घीयता कार्यन्वयनका लागि बनेका संयन्त्रहरूले प्रभावकारी कार्यसम्पादन गर्न नसक्दा सङ्घीयताप्रति नै नकारात्मक धारणा बढिरहेको भन्दै उहाँले प्रदेश र सङ्घीय संरचनाहरूलाई चुस्त र मितव्ययी बनाउनुपर्नेमा जोड दिनुभयो ।

राजनीति