हेटौंडामा विना मुआब्जा घर भत्काउन नदिन घरधनी र व्यसायीको विरोध प्रदर्शन

हेटौंडा । पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको हेटौंडाको दायाँबायाँ २५/२५ गज भित्र पर्ने संरचना हटाउन सडक डिभिजनले दिएको समय अवधि नजिकिँदै गर्दा यहाँका घरधनी र व्यवयायी सडक प्रदर्शनमा उत्रिएका छन् ।

विना मुआब्जा घर भत्काउन नदिने भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

मकवानपुर उद्योग वाणिज्य संघ र हेटौंडा बसोबास संरक्षण समितिको संयुक्त आयोजनामा उक्त विरोध प्रदर्शन भएको हो ।

शनिबार हेटौंडाको रातोमाटेदेखि चौकिटोल र राप्तीरोड क्षेत्रका अधिकांश घरधनी, उद्योगी, व्यावसायी, विभिन्न राजनीति दलका नेताहरुसहितले हेटौंडाको मुख्य बजार क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

लालपूर्जा भएका घर, जग्गाहरुको क्षेतिपूर्ति दिएर मात्र सडक विस्तार गर्नुपर्ने उनीहरुको माग छ । बुद्धचोकमा जम्मा भएका उनीहरुले विना मुआब्जा घर भत्काए त्यसको प्रतिकारमा उत्रने चेतावनी दिएका छन् ।

दायाँबायाँ २५/२५ गज भित्र पर्ने संरचना हटाउन सडक डिभिजनले दिएको समय यहि साउन १५ गतेसम्म मात्र रहेको छ ।

समाचार