माओवादीको नाममा चन्दा उठाउने पक्राउ

दैलेख । दैलेखमा माओवादीको नाममा चन्दा उठाउने दुई जना पक्राउ गरेका छन् । पक्राउ पर्नेहरुमा जिल्लाको दुल्लु नगरपालिका– १३ बस्ने १९ वर्षीय समिर शाही र २८ वर्षीय चन्द्रबहादुर शाही रहेका छन् ।

उनीहरुले नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) लाई आर्थिक सहयोग गरिदिन भन्दै दुल्लु नगरपालिकाका मेयर भरत रिजाललाई रसिद र पत्र बुझाएको दैलेख प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, पक्राउ परेकाले नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) लाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरिदिनु भन्ने रसिद र पत्र दुल्लु नगरपालिकाको कार्यालयमा बुझाएको गोप्य सूचनाका आधारमा खोजी कार्य थालेको थियो ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्ण डाँगीको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को पाँच थान पम्पेलेट, पार्टीको एक थान सहयोग ठेली, एक थान स्टमप्याट, एक थान पार्टीको छाँप, डायरी र कपी बरामद गरिएको छ ।

उनीहरुलाई जिल्ला सरकारी वकिल कार्यालयमार्फत दैलेख जिल्ला अदालतमा चन्दा ऐन २०३० सम्बन्धी मुद्दा दर्ता भई पाँच दिनको म्याद थप गरि हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

राजनीति