संसद् अवरोधको आरोपप्रति योगेशको प्रश्नः के संसद् मेडिटेसन गर्ने ठाउँ हो?

नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टराईले सुनको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने अडानबाट एमाले पछि नहटेको बताएका हुन्।

‘अनुसन्धान गर्न योग्य व्यक्तिहरू राखेर छानबिन समिति बनाऔँ। नेकपा एमालेको यो भनाई छ। हाम्रो भनाइ आज पनि कायम छ। आजको सदनबाट सभामुखले समिति गठनमा रूलिङ गर्नुहुन्छ। नभए हाम्रो विरोध जारी छ,’ उनले भने।

सदनमा कडा रूपमा प्रस्तुत भएका उनले एमालेले संसद चल्न नदिएको भनेर भ्रम फैलाइएको बताए। सांसद भट्टराईले सदनमा प्रतिपक्षले प्रश्न उठाउने र सत्तापक्षले जवाफ दिनुपर्ने प्रचलन रहेको बताउँदै संसद मेडिटेसन गर्ने ठाउँ हो? भन्दै प्रश्न गरे।

‘एमालेले कुनै अड्को थापेको छैन्। एमालेले संसद चल्न दिएन भनियो। हामीले चल्न नदिएको हो? संसद चलाउनूस्। हाम्रा मागबारे सरकारबाट सम्बोधन भए ठिक छ। नभए विरोध हुन्छ। संसदमा विरोध हुँदैन। के संसद् मेडिटेसन गर्ने ठाउँ हो? जनताको आवाज बोल्ने ठाउँ होइन? संसद चल्न दिएन एमालेले…। सत्ता पक्षले चलायो संसद? चलाउनु नि त संसद। हामीले नचलाउनु भनेका छौं? हामीले आफ्नो कुरा राख्छौँ भनेका छौँ। आफ्नो कुरा राख्न नदिने, संसद चल्न नदिने, उच्चस्तरीय छानबिन समिति गठन गरौँ। उच्चस्तरीय राजनीतिक नेतृत्व संलग्न छ। त्यसमा ‘चूँ’समेत नबोल्ने,’ उनले भने।

राजनीति