रविको आपत्ति : माधव नेपाललाई विदेश जान किन दिएको?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष मााधवकुमार नेपाललाई विदेश भ्रमणमा जान दिइएकामा आपत्ति जनाएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सभापति लामिछानेले ललिता निवास प्रकरणमा अदालतले छानबिन गर्न आदेश दिएको भोलिपल्ट नेपालललाई विदेश जान दिइएकामा आपत्ति जनाएका हुन्।

‘भुटानी शरणार्थी र ललिता निवास प्रकरणकाे अनुसन्धान केही नाम आउने बित्तिकै अड्किएको थियो। अदालतको आदेश नै चाहिँदैन थियो तर, अदालतले आदेश गरिसक्यो। बहालवाला सचिव हवाई जहाजको सिटबाट कठालोमा समातेर ल्याइन्छन्। देशका पूर्व प्रधानमन्त्रीलाई अदालतले छानबिन गरेको भोलिपल्ट नै जान दिइन्छ। यो विभेद एउटै केशमा कसरी भयो? यसले आशंकाहरू उब्जिने भएका छन्,’ उनले भने।

सभापति लामिछानेले एक क्विन्टल सुन पक्राउ प्रकरणमा गृहमन्त्रीलाई प्रश्न तेर्साएका छन्।

‘गृहमन्त्रीज्यूलाई मेरो प्रश्न छ– बाटोमा समातिएको सुनलाई मालिकसम्म जान किन नदिएको होला? तीन दिनपछि ‘ब्रेक सु’ कम्पनीमा छापा मारियो। तीन दिनसम्म त्यो कम्पनीमा किन नपुगेको? जहाँ तीन दिनपछि पुग्दा ब्रेक सुमा सुन नभएको डब्बा भेटियो। त्यो समय किन दिइएको हाेला? २० दिनसम्म राजश्व अनुसन्धानको छानबिनमा पर्यो। दबाब बढेपछि सिआईबीलाई दिइयो। यो अवधिमा प्रभावित हुने कैयौं क्रियाकलाप भए होलान। यसक्रममा प्रमाण लुकाउने र मानिसहरू विदेश भाग्ने क्रम भयो। यसको निगरानी कसरी गरिरहेको छ?,’ उनले भने।

सभापति लामिछानेले सुन प्रकरणमा सत्तारूढ दलका नेताहरूको नाम मुछिएको विषयमा छानबिन नभएकोमा आपत्ति जनाए।

‘सत्तारूढ दलका नेता यो भेपबाट हुने सुन तस्करीको विषयमा विवादित हुनुहुन्छ। एक सय पटक भन्दा बढी उहाँ र छोराको तस्करसँग सम्पर्क भएको खुलेको छ। सत्तारूढ दलका नेता भएर होला प्रहरीले मिडियाबाट सूचना चुहाइरहेको छ। प्रहरीले मिडिया ट्रायल गरिरहेको छ,’ उनले भने।

राजनीति