भैँसे–भीमफेदी सडकखण्डमा यातायात सञ्चालन

हेटौंडा । पहिरोको कारण अवरुद्ध हेटौंडाबाट काठमाडौं जोड्ने छोटो मार्गअन्तर्गत पर्ने भैँसे–भीमफेदी सडकखण्डमा आज बिहानदेखि यातायात पुनः सञ्चालन भएको छ ।

गए राति वर्षासँगै माथिबाट खसेको पहिरोका कारण अवरुद्ध उक्त सडकखण्डमा आज बिहान ५ बजेदेखि यातयात सञ्चालनमा आएको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार गए राति भीमफेदी गाउँपालिका–२ ज्यालटारस्थित पहिरो खसी यातायात अवरुद्ध बनेको थियो । लगातार वर्षाका कारण राति पहिरो हटाउन कठिनाइ भएपछि आज बिहानै पहिरो हटाइ यातायात सञ्चालनमा ल्याएको हो ।

हाल हेटौंडाबाट भीमफेदी हुँदै विभिन्न स्थानमा जाने र हेटौंडातर्फ आउने सबै प्रकारका सावरी साधन सञ्चालनमा रहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

समाचार