अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेटेको घोषणा गर्दै प्रधानमन्त्री

सरकारले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेटेको औपचारिक घोषणा गर्दैछ।

नेपाल प्रज्ञा भवन कमलादीमा बुधबार बिहान ११ बजे हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारलाई पनि कोषमा समेटिएको औपचारिक घोषणा गर्नेछन्।

वैशाख १ गतेदेखि नै कोषमा समेट्ने भनिए पनि तयारी नपुगेका कारण आज त्यसको औपचारिक घोषणा गर्न लागिएको सामाजिक सुरक्षा कोषका सूचना अधिकारी उत्तमराज नेपालले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए।

अनौपचारिक क्षेत्रका श्रमिकलाई २०८० वैशाख १ गतेदेखि कोषमा समेट्ने गरी गत मंसिर २५ गते श्रम मन्त्रालयबाट कार्यविधि स्वीकृत भएको थियो। अनौपचारिक क्षेत्रका श्रमिक भन्नाले रोजगारदाता निश्चित नभएका कृषि क्षेत्र र निर्माण क्षेत्रलगायतका श्रमिक तथा मजदुरलाई बुझ्नुपर्ने कार्यविधिमा उल्लेख छ। यसअघि औपचारिक क्षेत्रका मात्रै सामाजिक सुरक्षा कोषमा आबद्ध भएका थिए।

अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिलाई कोषमा समेट्न स्थानीय तहमार्फत् सम्झौता गर्ने व्यवस्था कार्यविधिमा छ।
कार्यविधि अनुसार अनौपचारिक क्षेत्रका श्रमिकको न्यूनतम आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम र सरकारबाट थप गरिएको ९.३७ प्रतिशत रकम थप गरी कुल २०.३७ प्रतिशत रकम कोषमा जम्मा गरिने छ।

अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको उमेर ६० वर्ष पूरा भएको र कम्तीमा १८० महिना योगदान गरेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ।

सामाजिक सुरक्षा कोषमा हालसम्म १८ हजार १५९ रोजगारदाता सुचिकृत हुँदा सात लाख १३ हजार १९३ योगदानकर्ता समावेश भएका छन्।

समाचार