जमिन भासिँदै गएपछि गाेरखाकाे खानीगाउँ पहिरोको उच्च जोखिममा

उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, खानीगाउँ पहिराेको जोखिममा परेकाे छ । पहिरोका कारण बस्ती भएको जमिन चिराचिरा परेको छ । यहाँ ३२ घर पहिरोको उच्च जोखिममा परेका छन् ।

गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङका अनुसार बस्ती माथिको जमिन चिराचिरा परेको छ । जमिन खाल्डो पर्दै गएपछि बस्ती जोखिममा परेको उहाँको भनाइ छ । ‘विसं २०७२ साल वैशाखमा गएको भूकम्पले खानीगाउँको जमिनमा चिरा पर्न थालेको हो’, उपाध्यक्ष गुरुङले भन्नुभयो, ‘केही दिनअघि परेको वर्षाले झन् जोखिमपूर्ण बनेको छ ।’

वर्षाले जमिन भासिँदै गएपछि प्रायजसाे घरको भित्रि भागमा चिरा परेको छ । घरको जगसमेत तलतल सर्दै गएको छ । घरभित्र एक बित्तासम्म चिरा परेपछि स्थानीय बास बस्नै डराउने गरेकाे उहाँले बताउनुभयो ।

‘पहिरोको जोखिम बढेपछि बास बस्न खतरा छ, घरभित्र पसे अत्यास लाग्ने अवस्था छ’, उपाध्यक्ष गुरुङले भन्नुभयो, ‘राति बास बस्न छिमेकीको घरमा जानुपर्ने बाध्यता छ ।’ पहिराेको त्रासले स्थानीयवासी बेलुकीपख छिटोछिटो घरमा खाना खाएर ओड्ने ओछ्याउने बोकेर आफन्तकहाँ बास बस्न जाने गरेका उहाँले बताउनु भयाे ।

केही परिवार विद्यालयमा बास बस्न थालेका छन् । बस्ती खाली गरेर अन्यत्र सर्न गाउँपालिकाले स्थानीयवासीलाई आग्रह गरेको छ । पहिरोले खानीगाउँका ३२ परिवारका एक सय पाँच जना प्रभावित भएका छन् ।

समाचार