माओवादी र नागरिकबीचकाे सम्बन्ध पानी र माछाकाे जस्तै थियाे, सरकारमा गएपछि टाढिँदै गयाे : प्रचण्ड

रामेछाप – प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले आफ्नो पार्टी सरकारमा गएपछि नागरिक र पार्टीबीचको सम्बन्ध टाँढिदै गएको बताउनुभएकाे छ । आज बिहीवार रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको डाडाँकटेरीमा आयोजित २० औँ दोरम्बा स्मृति दिवस कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्ताे बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयाे, ‘हिजो हामी सामन्तवाद निरङ्कुशताविरुद्ध बन्दुक बोकेर लडाइँमा थियौँ । त्यस बेला माओवादी र नागरिककाे सम्बन्ध पानी र माछाको जस्तै थियो, अहिले त्यो सम्बन्ध कायम छैन । विगतमा हामीले गरेका त्यस्तो सम्बन्ध केही अलमलिएकाले फेरि पुरानै बाटोमा ल्याउन नयाँ सङ्कल्पसहित लागिपरेको छाैँ । शान्ति, सहकार्य र एकताको सन्देशसहित देशलाई नयाँ युगतिर लैजानु अहिलेको आवश्यकता हाे ।’
प्रचण्डले देशमा स्थायी शान्ति, सुशासन र समृद्धिका लागि अझै धेरै काम गर्न बाँकी रहेको पनि बताउनुभयाे । ‘देशमा आमूल परिवर्तन ल्याऔँ भनेर सैद्धान्तिक रूपमा भने पनि व्यवहारमा र नागरिककाे दैनिकीमा अझै परिवर्तन आउन नसकेकाले हामीहरू कहीँ न कहीँ अलमलिएकाे छौँ कि भन्ने लागेकाे छ’, उहाँले भन्नुभयाे ।

उहाँले आउँदाे तीन महिनाभित्र नयाँ–नयाँ वातावरण बनाउने, अर्को तीन महिनामा पार्टीलाई जीवन्त रूप दिने र त्यसपछि पार्टीले २०६४ सालको चुनावकाे जस्तै परिणाम ल्याउन गाह्रो नहुने दाबी गर्नुभयाे ।

प्रधानमन्त्री प्रचण्डले अहिले आफ्नो नेतृत्वको सरकार देशमा व्याप्त विकृति र विसङ्गति अन्त्य गर्न लागिपरेको बताउनुभयाे । याे सरकार भ्रष्टाचारको अन्त्य गरी सुशासन र विकासका लागि अघि बढ्दै गरेकाले सत्ता गठबन्धमा कुनै पनि समस्या नदेखिएकाे उहाँकाे भनाइ थियाे ।

प्रधानमन्त्रीले अहिलेको सरकारले ठूला आयोजना निर्माणमा ध्यान केन्द्रित गरेर आफ्नो कार्यकालमा नागरिककाे मन जित्ने किसिमले काम गर्ने दाबी गर्नुभयाे । उहाँले भन्नुभयाे, यो पटक म जसरी भए पनि नागरिकको मन जित्ने गरी काम गर्छु । याे सरकारले शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न लागिपरेको पनि उहाँकाे दाबी थियाे ।

दोरम्बा स्मृति दिवस कार्यक्रममा बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, माओवादीका सांसद जनार्दन शर्मा, बाग्मती प्रदेशसभा सदस्य युवराज चौलागाईंलगायतकाे उपस्थिति रहेको थियो ।

राजनीति