सुन प्रकरणमा मेरो परिवारको संलग्नता छैनः ईश्वर पोखरेल

काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सुन तस्करी प्रकरणमा आफ्नो परिवारको नाम जोडिएपछि आपत्ति जनाएका छन्।

वरिष्ठ उपाध्यक्ष पोखरेलले सुन तस्करी आरोपमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङले ईश्वर पोखरेलका छोरा स्वराज पोखरेल र उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापासँग मिलेर विगतदेखि व्यवसाय गरिरहेको बयान दिएको विषय बाहिरिएपछि आपत्ति जनाएका हुन्। 

शुक्रबार वक्तव्य जारी गर्दै पत्रकारिता पेशाको सामान्य मर्यादा पनि नराखी नियोजित रूपमा आफ्नो परिवारलाई जोडेर लेखेको समाचार शतप्रतिशत झुटो भएको भन्दै आपत्ति जनाएका हुन्। 

‘माओवादी नेताको लगानी रहेको नेपाल खबर नामक अनलाइनले पत्रकारिता पेशाको सामान्य मर्यादा पनि नराखी नियोजित रूपमा मेरो परिवारलाई जोडेर लेखेको शतप्रतिशत झुटो समाचारको म घोर निन्दा, भत्र्सना र खण्डन गर्न चाहन्छु। माओवादीका उपमहासचिवको लगानी रहेको र कतिपय लगानीकर्ताको लगानी समेत ठगी गरेको भनेर यसअघि नै विवादित त्यस अनलाइनले सरकारी कारखानामा तयार पारिएको समाचार प्रकाशित गरेर मालिकको सेवा गरेको प्रष्टै छ,’ उनले भनेका छन्, ‘यो हाम्रो पार्टीलाई बदनाम गरी सुन तस्करी प्रकरणलाई अन्तै मोड्ने प्रपञ्च हो। म चुनौतीका साथ भन्न चाहन्छु। मेरो परिवारको यस्ता कुनै कुरामा संलग्नता छैन। यस्ता कुराबाट भ्रमित नहुन म सबै शुभेच्छुक र पार्टी पंक्तिलाई आह्वान गर्दछु। यस सम्बन्धमा आज कानुनी कारबाही पनि अगाडि बढाउने सबैमा जानकारी गराउन चाहन्छु।’

https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2FPokhrelIshwar%2Fposts%2Fpfbid021BMqEKHQbFJcAoiJFZ2mC37PcVUc3Bt6yc7RxGQdLzSfzrGYjtU3rCyLAgvHyEiXl&show_text=true&width=500

राजनीति