मकवानपुरमा अहिलेसम्म ९० प्रतिशत मात्रै धान रोपाइँ

हेटौंडा । मकवानपुरमा अहिलेसम्म जम्मा ९० प्रतिशत मात्रै धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालय बागमती प्रदेशका कृषी अर्थ विज्ञ रामहरी तिमल्सिनाले भदौ १ गतेसम्म मकवानपुरमा जम्मा ९० प्रतिशत मात्रै धान रोपाइँ जानकारी दिए ।
उनका अनुसार गतवर्ष यहिअवधिमा मकवानपुरमा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो । कृषी अर्थ विज्ञ तिमल्सिनाका अनुसार यसवर्ष समयमै पानी नपरेको र कम पानी परेका कारण धान रोपाइँमा ढिलाई भएको हो ।
‘मकवानपुरमा अहिलेसम्म ९० प्रतिशत मात्रै धान रोपाइँ भएको छ । विगतको वर्षमा भन्दा यसवर्ष पानी कम परेका कारण धान रोपाई केहि ढिला भएको हो । यतिवेलासम्म मकवानपुरमा धान रोपाई सम्पन्न भइसक्नुपर्ने थियो ।’ उनले भने ।
यस्तै लम्पी स्किन संक्रमणका कारण पनि यसबर्ष धन रोपाईमा ढिलाई भएको छ । खेति गर्ने समयमा धेरै किसानका गाईवस्तुमा लम्पी स्किनको संक्रमण फैलिदा गोरु विरामी हुनेदेखि मर्नेसम्मका कारणले धेरै ठाउँमा समयमै धान रोप्न समस्या भएको विज्ञ तिमल्सिनाले बताए ।
मकवानपुरमा ९ हजार ४५० हेक्टर क्षेत्रफलमा धान खेति हुने गरेकोमा यसवर्ष जम्मा ७ हजार ८७ हेक्टर क्षेत्रफलमा मात्रै धान खेति भएको कृषी अर्थ विज्ञ तिमल्सिनाले जानकारी दिए । मकवानपुरका अधिकांश स्थानमा खेतीका लागी आकाशे पानीको भर पर्नुपर्ने भएकाले पनि धान रोपाइँ समयमै हुन नसकेको उनको भनाई छ ।

समाचार