सर्वोच्च अदालतमा भोलिबाट ‘पेशी तारेख अटोमेशन सिस्टम’ सुरु हुने

सर्वोच्च अदालतले भाद्र ११ गते (भोलि) देखि ‘पेशी तारेख अटोमेशन स्टिम’ लागू गर्ने भएको छ।

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालय भित्र हुने अनियमिततालाई कम गर्न अटोमेसनमा जान लागेको जानकारी दिएका हुन्।

आइतबार बधाई दिन कार्यकक्षमा पुगेका पत्रकारको एक समूहसँगको कुराकानीमा उनले अदालत भित्र हुने अनियमितता हुनै नदिन पनि आफूले प्रविधिको प्रयोगमा जोड दिन लागेको बताए।

प्रधानन्यायाधीश श्रेष्ठले तारेख तोक्ने काममा कर्मचारीहरुको हस्तक्षेप हुन नदिने पनि आफूले सो अटोमेशन सिष्टमको शुरुवात गर्नुपरेको उल्लेख गरे। उनले प्रविधिकै माध्यामबाट न्यायालयमाथि हुने जनगुनासो सम्बोधन गर्न आफूले चाहेको बताए।

सर्वोच्च अदालत पछि काठमाडौं जिल्ला अदालतमा तत्काल सो सिस्टम लागू गर्ने प्रधानन्यायाधीश श्रेष्ठले योजना सुनाए। श्रेष्ठले न्याय सेवामा हुने अनियमितताको भने न्याय परिषद्बाट छानबिन हुने भएकाले त्यसमा चिन्ता गरिरहनु नपर्ने बताउनु भयो ।

प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘न्यायपालिका भित्र भएका अनियमितताका कुराहरु। अब त्यो त न्यायपालिका भित्र हुनसक्ने, भएका, हुने अनियमितताका कुराहरुलाई हामीले एउटा विधि र प्रणालीबाट सम्बोधन गर्नुपर्छ। पेशी तारेख अटोमेशन शुभारम्भ। कि अब पेशी तारेख हुँदाखेरी कर्मचारीहरुले एउटा प्रविधिबाट मात्रै तोकिने, त्यसमा मानव हस्तक्षेप नहुने प्रविधि भोलिदेखि म शुभारम्भ गर्दैछु।’

सर्वोच्चमा २०७८ माघदेखि गोलाप्रथाबाट पेशी तोकिँदै आएको छ।

प्रधानन्यायाधीश श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया आफूले शुरु गरिसकेको उल्लेख गर्दै त्यसको नतिजा छिट्टै आउने विश्वास समेत व्यक्त गरे।
उनले न्यायाधीश नियुक्ती नगरी नहुने भएकाले आफू त्यसमा लागि परेको बताए।

मुद्दाको बोझ धेरै भएको तर दरबन्दी अनुसारको न्यायाधीशहरु समेत नहुँदा अप्ठेरो भइरहेको प्रधानन्यायाधीश श्रेष्ठको भनाई थियो।

उनले भने, ‘न्यायाधिश नियुक्तीको विषय म तत्काल गरिहाल्छु। न्यायाधीश नियुक्ती नगरी नहुने भएको छ। त्यो मैले महशुस गरेको छु। म त्यसमा लागि सकेको छु। छिट्टै त्यो नतिजामा आउँछ होला । साथीहरु कम छ । मुद्दाहरुको बोझ छ।’

राजनीति