राष्ट्रियता खतरामा छ : झलनाथ खनाल

पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालको राष्ट्रियता खतरामा परेको दाबी गरेका छन्।

आइतवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राष्ट्रियतामाथिको खतरा विभिन्न खालका सन्धि, सम्झौताका कारण आएको बताए। उनले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) कारण पनि देशको राष्ट्रियता खतरामा रहेको बताए।

उनले एमसीसी अमेरिकाले खडा गरेको इण्डोप्यासिफिक रणनीति भएको बताए। उनले अनुमोदन गर्ने क्रममा व्याख्यात्मक घोषणा भने पनि त्यसलाई अमेरिकाले नमान्ने दाबी गरे। उनले अहिलेसम्म नेपालले पठाएको भनेको व्याख्यात्मक घोषणा अमेरिकाले लागू नगरेको दाबी गरे। उनले ५ सय मिलियन डलर मात्र नभई ५५ अर्ब दिए पनि आपत्ति नरहेको तर अमेरिकाले अघि सारेको शर्त मान्य नहुने चेतावनी दिए।

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता समेत रहेका खनालले अमेरिकाले नेपालमा एमसीसी कार्यान्वयन भइसकेपछि अमेरिकाले ल्याउने नागरिकहरूको केही पनि चेकजाँच गर्न नमिल्ने उल्लेख गरे।

उनले भने, ‘आज देशमा हेर्नुहोस्, राष्ट्रियता त्यत्तिकै खतरामा बढेको छ। एमसीसी अमेरिकी साम्राज्यवादले खडा गरेको जुन इण्डोप्यासिफिक रणनीति हो।

सम्झौतामार्फत नेपालले पाउने जम्मा ५५ करोड डलर हो। त्यसमा आपत्ति छैन तर शर्तहरू जुन ढंगले लाद्न खोजिएको छ, त्यो एउटा शर्त पनि मान्य हुँदैन। उसले ल्याएका मान्छेलाई नेपालले कुन देशको नागरिक भनेर सोध्न पाउँदैन। ब्यागमा के लिएर आउँछन्, त्यो हेर्न मिल्दैन। यस्ता शर्त छन्।’

नेता खनालले विगत केही समयदेखि नेपालको विदेश नीति पनि असन्तुलित भएको दाबी गरे।

राजनीति