सर्वोच्चमा आजदेखि स्वचालित पेसी तारेख व्यवस्थापन : प्रधानन्यायाधीश श्रेष्ठद्वारा उद्घाटन

सर्वोच्च अदालतमा आजदेखि स्वचालित पेसी तारेख व्यवस्थापन शुरु भएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बिहान ११ बजे स्वचालित पेसी तारेख व्यवस्थापनको उद्घाटन गर्नुभयो ।

उहाँले प्रविधिको प्रयोगमा जोड र तारेख तोक्ने काममा कर्मचारीको हस्तक्षेप नहोस् भनेर स्वचालित प्रणाली जडान गरिएको बताउनुभयो ।

यसअघि फाँटका व्यक्तिहरूले दुई पक्षको सहमतिमा पेसी तारेख दिने गरेकामा आजदेखि स्वचालितरुपमा सिस्टमबाटै पेसी तारेख दिन लागिएको हो ।

अब मुद्दा दर्ता भएको मिति, विपक्षीको सङ्ख्या, अग्राधिकार पाएको नपाएको र कुन प्रकृतिको रिट वा मुद्दा हो, त्यस्तै अनुसार सिस्टमबाट नै पेसी तारेख उपलब्ध हुनेछ ।

तत्कालका लागि सर्वोच्च अदालतबाट स्वचालित तारेख व्यवस्थापन शुरु गरिएको र बिस्तारै उच्च र जिल्ला अदालतमा पनि स्वचालित तारेख व्यवस्थापन गर्ने तयारी रहेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द्रप्रसाद घिमिरेले बताउनुभयो ।

राजनीति