मकवानपुर प्रहरीद्वारा सुन र नगद चोरी गर्ने चार जनालाई पक्राउ गरी सार्वजनिक

मकवापनुरका प्रहरीले सुनका गरगहना तथा नगद रकम चोरीमा संलग्न चार जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

गत साउन ३० गते विहान ११ बजेर २५ मिनेटमा हेटौंडा उपमहानगरपालिका वडा नं. ९ लामसुरेधापस्थित सुशिला साउदको घरबाट नगद र सुन चोरी गर्ने चार जनालाई भदौं ७ गते काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. ७ बस्ने वर्ष २८ को भिमलाल लामा, सोही स्थान बस्ने बर्ष २८ को प्रदिप तामाङ, वर्ष २९ को आकाश तामाङ र चोरी भएको सुनका गर गहनाहरु खरिद गर्ने पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं.६ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ स्थितमा रितु सुन पसल संचालन गरी बस्ने वर्ष ३१ को राजेन्द्र रसाईली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालका अनुसार, उनीहरुले साउनदको घरबाट नगद ३० हजार रुपैयाँ, डेढ तोलाको सुनको सिक्री १ थान, १ तोलाको सुनको बाला १ थान, एक तोलाको सुनको चन्द्रहार १ थान, ४ आनाको सुनको टप १ जोडी, २ आनाको सुनको मुद्रा १ जोडी गरी ५ लाख ३२ हजार बराबरको सुनको गरगहना र १ थान घडी चारी गरेका थिए ।

साउदको घरबाट चोरी गरेको गरगहना पगालेर बिक्रीको लागि तयार बनाएर राखेको अवस्थामा विभिन्न प्रकार गरगहनासहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रिजालले बताए ।

उनका अनुसार उनीहरुको साथबाट सुन जस्तो देखिने पहेलो धातुको झुम्का १ जोर, रामबिला पत्थर झुम्का १ जोर, पानवाला झुम्का १ जोर, सोली पट १ जोर, धानको बाला झुम्का १ जोर, औठी थान ४, आधुनिक झुम्का १ जोर, आयतकार झुम्का १ जोर, पिजडा मुद्रा १ जोर लगायतका सुनका गरगहना बरामद गरिएको छ ।

त्यस्तै प्रदेश ०२–०२८ प २४२२ नम्बरको मोटरसाईकल, विभिन्न कम्पनीका ४ थान मोवाइल र नगद २४ हजार २ सय नगद समेत बरामद गरिएको उनले बताए ।

पक्राउ परेका उनीहरुलाई मकवानपुर जिल्ला अदालतबाट ६ दिनको म्याद अनुमती लिई चोरी तथा डाँका सम्बन्धि कसुरमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक रिजालले जानकारी दिए ।

समाज