एमालेको लुम्बिनी प्रदेश अधिवेशन आजबाट सुरु

काठमाडौँ । नेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशन आजबाट सुरु हुँदैछ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनको तयारी पूरा भइसकेको एमालेले जनाएको छ ।

एमालेका सात वटै प्रदेश कमिटीमध्ये लुम्बिनी प्रदेशले सबैभन्दा पहिले अधिवेशन गर्दैछ । प्रथम अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम भय भएको छ ।

उद्घाटन समारोहमा पार्टीका उपाध्यक्षहरु युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोख्रेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा एवं प्रदेशका इन्चार्ज पद्यमा अर्यालका साथै पोलिटब्युरो सदस्यहरु, केन्द्रीय सदस्यहरु, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहने सो पार्टीले जनाएको छ ।

अधिवेशनपूर्व बिहान १० बजेदखि बुटवलका १९ वटै वार्डहरु, छिमेकी पालिका तथा जिल्लाबाट सहभागी हुन आउने कार्यकर्ताले राजमार्ग चौराहबाट जुलुस तथा झाँकीसहित सम्मेलनस्थलमा प्रवेश गर्ने कार्यक्रम बनाइएको छ ।

राजनीति