मध्यरातमा बालेन आगो हुनुको असली कारण

काठमाण्डौलाई लेनमा हिँडाउन एकसुरले हिँडिरहेका मेयरको धुन मध्यरातमा एक्कासी बेसुर भयो । बेसुरमा निस्किएको धुन फेसबुक स्टाटसमा बज्यो । बेसुरको धुन बजाएर मेयर त सुते, तर उनी सुतेपछि मान्छेका मोबाइलमा नोटिफिकेसन टिङ्ग, घारघार र घुरघुर गर्न थाल्यो । मेयर निदाए, तर मोबाइल हेर्नेहरूको दिमागमा आगो सल्क्यो । प्रहरीको त निद्रा नै छुमन्तर भयो । सिंहदरबारमा आगो लाग्नु पहिले मोबाइल सल्किन थाले । फेसबुकमा लागेको आगो निभाउन कतिले फेसबुकमै पानी छ्यापे, कतिले आगो निभ्न नदिन घ्यु र चरु थपे । सबैको आँखा अघिल्तिर राँको देखिने गरी मेयर मध्यरातमा किन आगो भए त ? आफू पनि सरकार नै हो भन्ने बिर्सिएर सरकारलाई किन चोर भने त ? छोरीको बाबु भएको एक हप्तापछि मेयरसाब फेसबुकमा बेसुरजस्तो देखिनुको केही कारण यस्ता छन् :

  • नेताहरूका भाषण र छेडछाड मात्रै सुनेर मनोरञ्जन लिने नेपालीलाई हिजोआज धरानका मेयरको स्टाटस हेरेर आनन्द लिने बानी परेको छ । तर लामखुट्टेको लार्भा मार्ने बेलामा पनि ढुङ्गै बोक्ने र धरानमा आगो लाग्न खोज्दासमेत दमकल थन्काएर बिरुवा नै सार्न हिँड्ने उनको दिनचर्या र फेसबुके स्टाटसमा अब बिस्तारै स्वाद मर्न थालेको छ । छिनछिनमा आइरहने सुर न बेसुरका स्टाटसले दाँतमा ढुङ्गा पर्न थालेपछि हेर्ने र पढ्नेहरू बोर हुन थालेका छन् । यसरी धरानका मेयरको स्टाटसबाट बोर भएकाहरूलाई अर्को मनोरञ्जन थप्न काठमाण्डौका मेयर अघि सरेका हुन् । देशकै ठूलो र आकर्षणको केन्द्र मानिने महानगरका मेयरलाई राम्रोसँग थाहा छ, केन्द्रका नेताहरूले मात्रै नागरिकलाई मनोरञ्जन दिन सक्दैनन् । मनोरञ्जन दिन पालिकाका मेयरहरूको भूमिका पनि महत्त्वपूर्ण हुन्छ, एक जना मेयरको प्रस्तुति खल्लो हुन थाल्यो भने अर्को मेयर अघि सर्नुपर्छ । धरानका मेयरको स्टाटस दिनमा मात्रै फुर्छ, तर काठमाण्डौमा मेयर दिउँसो काम गर्छन् र शुक्रवार वा शनिवार साँझ सुल्पा तान्न बस्छन् । सुल्पामा आगो भर्भर भएर धुँवाले जुँगा डढेपछि बल्ल मध्यरातमा स्टाटस फुर्छ । फुरेको स्टाटस पोस्ट गरेर मेयर सुत्छन् । उनी निदाउँछन्, उनका भोटर, समर्थक र विरोधी चाहिँ रातभर आगो ताप्न, निभाउन, पानी छम्किन केही चाहिँ घिउ र चरु थपेर आगोलाई अझै भर्भराउँदो बनाउँदै रात काट्छन् ।
  • अर्को महत्त्वपूर्ण कुरा काठमाण्डौका जुनसुकै ठाउँमा जुनसुकै बेला पनि आगलागी हुन सक्छ । बागदरबारमा पनि आगो लाग्न सक्छ, सिंहदरबारमा पनि आगो लाग्न सक्छ । उहिल्यै सिंहदरबारमा आगो लाग्दा त्यतिका संरचना ध्वस्त भए । त्यो बेला आगो निभाउने उपकरण पर्याप्त थिएनन्, आगो निभाउन गाह्रो भयो । तर अहिले आगो निभाउने उपकरण र प्रविधि पर्याप्त छन्, तर सिंहदरबारमा आगो लागेको छैन । सिंहदरबारमा आगो लाग्यो भने अहिलेका उपकरण र प्रविधिले निभाउन सक्छ कि सक्दैन भनेर हेर्न बाँकी छ । त्यसैले सिंहदरबारमा आगो निभाउने परीक्षण गर्नका लागि पनि मेयर मध्यरातमा आगो भएको हुन सक्छ ।
  • देशमा सङ्घीयता लागू भएपछि काठमाण्डौका शासकले शासन गर्ने ठाउँ मात्रै सिंहदरबार होइन । गाउँठाउँ र शहर बजारमा रहेका सबै पालिका सिंहदरबार हुन् । गाउँगाउँमा सिंहदरबार पुग्यो भनेर नेताहरूले त उहिल्यै भनेका पनि हुन् । भनेपछि सिंहदरबार जता पनि छ । पालिकाका जनप्रतिनिधिले काम गर्ने ठाउँ पनि सिंहदरबार हो, बास बस्ने ठाउँ पनि सिंहदरबार हो । बास बस्ने ठाउँ पनि सिंहदरबार भएपछि खाना पकाउने ठाउँलाई पनि सिंहदरबारकै एउटा कुनो भनेर बुझ्न सकिन्छ । अनि खाना बनाउन आगो बाल्नैपर्छ । आफ्नै भान्सामा खाना लगायतका परिकार बनाउनका लागि मेयरले सिंहदरबारमा आगो लगाउने कुरा गरेका हुन सक्छन् ।
  • सिंहदरबारमा आगो लगाउने कुरा गर्दै गर्दा मेयरले चोर सरकार पनि भनेका छन् । अरूभन्दा विकसित शहरमा रहेको सिंहदरबारको नेतृत्व गरेका मेयरलाई यो पनि थाहा छ कि सरकार भनेको सङ्घको मात्रै होइन पालिकाको पनि हो । प्रधानमन्त्री पनि सरकार हो, मुख्यमन्त्री र मन्त्री पनि सरकार हो, अनि मेयर र अरू जनप्रतिनिधि पनि सरकार हो । यसअघि काठमाण्डौलाई लेनमा हिँडाउने क्रममा असन्तुष्ट केहीले मेयरलाई चोर पनि भनेर नारा लगाएका थिए । सुरमा कहिलेकाहीँ बेसुर हुँदा मेयरलाई यसकै झल्को आएर स्टाटसमा पोखेका पनि हुन सक्छन् ।
  • अहिले सिंहदरबारमा सिंहझैँ बिराजमान भएकाहरू पहिले देशमा आगो झोसेरै त्यहाँ पुगेका हुन् । अहिले सिंहदरबारको सिंहासनमा बसेकाहरू पहिले पहिले सरकारी भवन बाल्थे, सडकमा टायर बालेर आगो ताप्थे । अहिले पनि सत्ताबाहिर रहेको बेला सत्ताको याद आउँदा कोही आगो नै बाल्न तम्सन्छन् । आगो नझोस्दासम्म, आगो नओकल्दासम्म सत्तामा पुग्न सकिँदैन भन्ने कुरा बालेनले उनीहरूबाट पनि सिकिसकेको हुनुपर्छ । देशमा आगो लगाउनेहरूको इतिहास पढेका र आगो झोस्दै हिँडेकाहरूले सिंहदरबार कब्जा गरेको देखेपछि मेयरलाई सिंहदरबारमै आगो झोस्न मन लाग्नु स्वाभाविक नै हो । 
  • अर्को महत्त्वपूर्ण कुरा फेसबुक स्टाटस लामो भयो भने धेरैले पढ्दैनन् । स्टाटसमा सिंहदरबारमा आगो लगाइदिन्छु मात्रै लेखिएको छ । तर भन्न खोजेको सिंहदरबारमा विकासको आगो, विचारको आगो, विविधताको आगो अनि विकृति, विभेद र विलासिताविरुद्धको आगो लगाउँछु भन्न खोजेको पनि त हुनसक्छ । यति कुरा त स्टाटस पढ्नेले पनि बुझ्नुपर्‍याे नि !
  • सबैभन्दा महत्त्वपूर्ण कुरा सिंहदरबारमा आजै आगो लगाउने कुरा छैन । भोलि भनिएको छ । स्टाटस पढ्नुहोस् त, ‘भोलिबाट महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु’ भनेर लेखिएको छ । आजै लगाइदिन्छु भनेको भए एउटा कुरा हुन्थ्यो, भोलि भनिएको छ । सबैलाई थाहा छ, त्यो भोलि कहिल्यै आउँदैन र भोलि नै नआउने भएपछि सिंहदरबारमा आगो लाग्ने कुरो पनि भएन !
राजनीति