झण्डै तीन महिनापछि ताप्लेजुङ-काठमाण्डौ उडान शुरु

ताप्लेजुङ – बन्द भएको झण्डै तीन महिनापछि ताप्लेजुङ-काठमाण्डौ उडान शुरु भएको छ । नेपाल एअरलाइन्सले झण्डै तीन महिनापछि काठमाण्डौ-सुकेटार उडान शुरु गरेको हो । खराब मौसमलगायतका कारण गएको जेठ २४ गतेदेखि काठमाण्डौ-सुकेटार उडान बन्द भएको थियो ।

मौसममा सुधार आएसँगै आजदेखि नियमित उडान शुरु भएको नेपाल एअरलाइन्स ताप्लेजुङका प्रमुख सचिन तिवारीले बताउनुभयो । बिहान काठमाण्डौबाट ६ जना यात्रु ताप्लेजुङ पुगेका छन् । ताप्लेजुङबाट भने १ जना यात्रु काठमाण्डौ आएका उहाँले बताउनुभयो ।

नेपाल एअरलाइन्सले हप्ताको तीन दिन सोमवार, बिहीवार र शनिवार नियमित उडान गर्ने प्रमुख तिवारीले बताउनुभयो । झण्डै १८ सय मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्खाको समयमा प्रायजसाे हुस्सु लाग्ने भएकाले उडानमा कठिनाइ हुने गरेको छ । यसैबीच, काठमाण्डौ र ताप्लेजुङको हवाई भाडा घटेको छ । यसअघि ९ हजार ६ सय ५३ रुपैयाँ रहेकोमा अहिले ८ हजार ६ सय रुपैयाँमा झारिएको छ ।

समाज