एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित

रूपन्देही – नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित हुनुभएको छ ।

कँडेल एमाले केन्द्रीय सदस्य प्युठानका हरि रिजाललाई दुई मतले पछि पार्दै विजयी हुनुभएको हो ।

गएराति सार्वजनिक भएको मतगणना नतिजा अनुसार कँडेलले ४ सय ७९ मत पाएर विजयी हुनु भएको हो भने उहाँका प्रतिस्पर्धी रिजालले ४ सय ७७ मत पाउनु भयो ।

त्यसैगरी उपाध्यक्षमा कँडेल समूहका भोजप्रसाद श्रेष्ठले ४ सय ५५ मत पाएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी रिजाल समूहका विश्वराज बराल अनुपले ३ सय ६ मत पाउनु भयो ।

पुरुष उपसचिवमा रिजाल समूहका रोल्पाका पूर्ण बुढा मगर ४ सय १८ मत पाएर विजयी हुनुभयो ।

उहाँका प्रतिस्पर्धी बाँकेका दुर्गाप्रसाद थारुले ३ सय ९३ मत पाउनु भएको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी महिला उपसचिवमा कँडेल समूहकै बर्दियाकी लीला राना मगर ३ सय ५२ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँकी प्रतिस्पर्धी बाँकेकी बसन्ती अधिकारीले ३ सय ५१ मत पाउनु भयो ।

यस्तै, सचिवमा लक्ष्मण आचार्य अस्ति सोमवार नै निर्विरोध निर्वाचित हुनुभएको थियो ।

अधिवेशनमा कुल १ हजार ४ जना मतदाता रहेकोमा चुनावमा ९ सय ६५ मत मात्रै खसेको थियो ।

राजनीति