नक्कली शरणार्थी प्रकरण : प्रतिवादीहरूको निवेदनमाथि उच्चमा सुनुवाइ स्थगित

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरूको निवेदनमाथि बिहीबार उच्च अदालत पाटनमा हुने भनिएको सुनुवाइ स्थगित भएको छ।

पुर्पक्ष थुनामा रहेकासहित १८ जनाको निवेदनमाथि एकमुस्ट सुनुवाइ हुने भन्दै पेसी तोकिए पनि निवेदककै कानुन व्यवसायीबाट सुनुवाइ स्थगित गरिएको अदालत प्रशासनले जनाएको छ।

सबैको पेसी न्यायाधीशद्वय सुभाष पौडेल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासमा परेको थियो। पुर्पक्ष थुनामा पठाइएका १६ जनाले आफूहरूलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश त्रुटीपूर्ण भएको दाबी गर्दै साधारण तारेख वा धरौटीमा छाड्नुपर्ने माग गरेका छन्।

यसअघि भदौ १ गते सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङ्टावा शेर्पासहित १० जनाको निवेदनमा सुनुवाइ गर्दै अदालतले सबैको निवेदन एकसाथ राखेर पेस गर्न आदेश दिएको थियो ।

गत असार १ गते जिल्ला अदालत काठमाडौंले १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जसमा पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी र बालकृष्ण खाँणसमेत छन् । उनीहरुविरुद्ध प्रहरीले ठगी, किर्ते, संगठित अपराध, राज्यविरुद्धको कसुर र एकीकृत कसुरको मुद्दा दायर गरेको थियो ।

राजनीति