सिन्धुलीमा गाडी दुर्घटना, १० जना घाइते

सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर ३ बोहोरेटार नजिक आज बिहान गाडी दुर्घटना भएको छ ।

सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१ ज ००६२ नम्बरको इलेक्ट्रिक गाडी बिहान ७ः५० बजेतिर सडक किनारको नालीमा पल्टिएर दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परेर १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घाइते हुनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ६ बस्ने ४६ वर्षीय निरकुमार चालिसे, कमलामाई नगरपालिका ५ बस्ने ४६ वर्षीया कमला घिमिरे, कमलामाई नगरपालिका वडा नं. १ बस्ने ३४ वर्षीय मुकुन्द थापा, सोही स्थानका ४१ वर्षीय भुवन थापा रहेका छन् ।

यसैगरी, सिन्धुलीकै कमलामाई नगरपालिका वडा नम्बर ४ बस्ने ४० वर्षीया बबिता देवकोटा, वडा नं. ६ बस्ने ४६ वर्षीय विष्णु ढकाल र उनको ११ वर्षीय छोरा निश्चल तथा कमलामाई नगरपालिका ६ का ४० वर्षीय सरोज थापा, सिन्धुलीको तिनपाटन गाउँपालिका १० बस्ने ४० वर्षीय राजन कार्की र काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १० बस्ने ४० वर्षीया गार्की बस्नेत घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि धुलिखेलतर्फ पठाइएको र घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

समाज