काठमाण्डौ महानगरपालिकाले खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने

काठमाण्डौ महानगरपालिकाले खसीबोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

दशैँका लागि किनबेच हुने खसीबोकालगायत चौपायाको यही २३ गते मङ्गलवारदेखि नै अनुगमन र स्वास्थ्य परीक्षण गर्ने महानगरले जनाएको छ । अघिल्ला वर्षमा घटस्थापनादेखि नवमीसम्म मात्र यस्तो अनुगमन हुँदै आएको थियो ।

कलङ्की, टुकुचा, बालाजु, कोटेश्वर र खाद्य संस्थानको बिक्री केन्द्रमा चौपायाको स्वाथ्य परीक्षण गर्ने तयारी महानगरको छ । अनुगमन समितिका संयोजकसमेत रहेकी उपमेयर सुनिता डङ्गोलको संयोजकत्वमा महानगरको कृषि तथा पशुपक्षी विभाग, प्रहरी र वडाको समन्वयमा खसीबोकालगायत चौपायाको परीक्षण हुने महानगरको कृषि विभाग प्रमुख डा. अवधेश झाले जानकारी दिनुभयो ।

खसीबोकाको बिक्री केन्द्रमा नै गरिने अनुगमनका क्रममा स्वस्थ खसीबोकाको सिङमा हरियो र अस्वस्थको सिङमा रातो रङ लगाइने छ । परीक्षणपछि उपभोक्तालाई खरिद गर्न सहज हुने भन्दै उहाँले सिङमा हरियो रङ लगाइएको खसीबोका मात्र खरिद गर्न आग्रह गर्नुभयो ।

महानगरले चौपाया बिक्री गर्ने ठाउँ, मासु पसल र बधशालालगायतका ठाउँमा पनि अनुगमन गर्नेछ ।

समाज