इजरायलमा केही नेपाली हताहत भएकाे हुनसक्छ, केही सम्पर्कमा छैनन् : परराष्ट्रमन्त्री साउद

 सरकारले इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले गरेको आक्रमणमा केही नेपाली हताहत भएकाे हुनसक्ने बताउनुभएकाे छ ।

आज आइतवार प्रतिनिधिसभा बैठककाे विशेष समयमा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलकाे गाजा क्षेत्र नजिक भएकाे आक्रमणमा केही नेपाली हताहत भएकाे हुनसक्ने बताउनुभएकाे हाे । उहाँका अनुसार सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ मध्ये १७ जना नेपाली दक्षिण इजरायलकाे किवुज अलुमिम भन्ने ठाउँमा अध्ययनरत रहेका थिए । १७ जना नेपालीमध्ये दुई जना सकुशल रहेका, तीन जना घाइतेकाे स्थानीय अस्पतालमा उपचार भइरहेकाे परराष्ट्रमन्त्री साउदले जानकारी दिनुभयाे । यस्तै बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेका र केही हताहत भएकाे हुनसक्ने बताउनुभयाे ।

परराष्ट्रमन्त्रीले इजरायलमा अहिले चार हजार पाँच सय जना नेपाली ‘कियरगिभर’ काे रूपमा कार्यरत रहेकाे संसदलाई जानकारी गराउनुभयाे । इजरायलमा अहिले दुई सय ६५ जना नेपाली विद्यार्थी अध्ययन गरिरहेका र उनीहरू इजरायल सरकारकाे ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गएका उहाँले बताउनुभयाे । यसमध्ये नेपालकाे कृषि विश्वविद्यालयबाट एक सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए ।

राजनीति