वीर अस्पतालका २३० स्वास्थ्यकर्मी हटाउने निर्णय फिर्ता लिन माग

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद विद्या भट्टराईले करारमा कार्यरत वीर अस्पतालका २३० जना स्वास्थ्यकर्मीलाई हटाउने सरकारको निर्णयप्रति आपत्ति प्रकट गरेकी छन्।

आइतवार प्रतिनिधिसभामा बोल्दै उनले कोरोनाकालमा नियुक्त गरिएका ५० चिकित्सकसहितका स्वास्थ्यकर्मीलाई आज (आइतवार)देखि स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नआउन निर्देशन दिएकोमा आपत्ति जनाइन्। उनले उनीहरूलाई हटाउने निर्णय फिर्ता लिन पनि सरकारसँग आग्रह गरिन्।

सांसद भट्टराईले वीर अस्पतालको विस्तारित सेवाका लागि र नागरिकलाई निजी स्वास्थ्य संस्थामा जान बाध्य नपार्न पनि सरकारले उनीहरूको सेवा प्रवाहको कामलाई निरन्तरता दिनुपर्ने तर्क गरिन्।

उनले भनिन्, ‘वीर अस्पतालका २३० जना स्वास्थ्यकर्मीलाई दशैंको मुखमा सरकारले हटाउने निर्णय गरेको छ। कोरोना महामारीका वेला नियुक्त ५० डाक्टर, १६२ नर्स, ११ जना प्रयोगशाला प्राविधिकका साथ रेडियोलोजिष्टलाई असोज २१ गतेबाट काममा नआउन स्वास्थ्यमन्त्रीले निर्देशन दिनुभएको छ भन्ने समाचार आएको छ।’

सांसद भट्टराईले सरकारले निजी स्वास्थ्य संस्थामा उपचार गर्नका लागि बाध्य हुने खालका गतिविधि गर्न नहुने पनि बताइन्।

समाज